कर्मचारीको आन्दोलनका कारण बर्जु गाउँपालिकाको सेवा ठप्प भएको छ । कार्यालय भित्र प्रवेश गरी दुव्र्यवहार गरिएको विषयलाई लिएर कर्मचारी आन्दोलनमा उत्रिएपछि गाउँपालिकाको सेवा प्रभावित बन्न पुगेको हो ।

सुरक्षाको प्रत्याभूति नभएको भन्दै आन्दोलित कर्मचारीहरुले अत्यावश्यक सेवा भने नरोकिने बताएका छन । उनीहरुले अन्य सेवा प्रवाह भने अनिश्चित रुपमा ठप्प पारिने बताएका छन् । कार्यालय भित्र कर्मचारी माथि भएको दुव्र्यवहारको घटनामा संलग्न उपर कार्वाहीको माग गरेका कर्मचारीले सुरक्षा लगायतको सवालमा सुरक्षा प्रत्याभूति सहित आफुहरुको मागका सवालमा गाउँपालिकाबाट साझा प्रतिवद्धता नआए सम्म काममा नफर्किने बताएका छन् ।
आन्दोलित कर्मचारीहरुले घटना अतिरञ्जित गरी झुटो प्रचारबाजी गर्ने उपर कार्वाही गरिनु पर्ने र कर्मचारी हकहीत र सुरक्षाको प्रत्याभूति हुनु पर्ने माग अघि सारेका छन् ।

आन्दोलनका कार्यक्रम लगायतका विषयमा प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरीले विज्ञप्ती जारी गरी जानकारी समेत गराएका छन ।
प्रमुख प्रशासकीय अधिकृत चौधरीको नेतृत्वमा सम्पन्न पालिका भरका कर्मचारीको बैठकले अत्यावश्यक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम पालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा पालिका भरका विद्यालयका शिक्षक, कर्मचारी लगायत मातहतका कार्यालयका कर्मचारीले समेत ऐक्यवद्धता जनाएका छन् ।
गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख भए अनुसार गाउँपालिकाको स्टोर कोठामा राखिएको कृषि मोटर कोठा व्यवस्थापनका क्रममा सुरक्षित स्थानमा स्थानान्तरण गरी राखिएको विषयलाई स्थानीयको भीडले कर्मचारी उपर चोरीको आरोप लगाएका थियो ।

सोही क्रममा भीड कार्यालय प्रवेश गरी दुव्र्यवहार गरेको कर्मचारीको आरोप छ । आन्दोलित कर्मचारीहरुले आरोप नै पुष्टि नभई कर्मचारी माथि गम्भिर आरोप लगाउनु खेदजनक भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया