कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादनमा वृद्धि गर्ने ध्येयले बुढीगंगा गाउँपालिकाले वडा नम्बर ६ सुक्चरमा कृषि सामग्री वितरण गरेको छ ।

धान खेतीको लागि परिचित रहेको उक्त क्षेत्रमा धान उत्पादन प्रवर्धन बाली विकास अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण तथा बीउ बिजन प्रविधि शनिबार हस्तान्तरण गरिएको हो ।

जसअन्तर्गत २ थान पावर ट्रेलर ट्याक्टर, १ थान रोटोबेटो, २० थान फरुवा कोदालो,३० थान त्रिपाल, ३ थान विषादी छर्कने स्प्रे, २५ केजी जिङ लगायतका सामाग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष जित नारायण थापाले बताउनु भयो ।

जसबाट ६० जना बढी कृषक लाभाम्बित भएका छन् । वडा नम्बर ६ मा आयोजित एक कार्यक्रममा सामग्री हस्तान्तरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष तथा सो कार्यक्रमका प्रमुख अतिथि जित नारायण थापाले कृषिमा व्यावसायिकता बढाएर र कृषि उत्पादन वृद्धि गरेर आर्थिक उपार्जन गर्न आधुनिक सामग्री प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । कृषिलाई व्यवसाय उन्मुख बनाउन उत्पादन बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

 

यस अघि पनि पालिकाद्वारा पशुपालक किसानलाई गाई भैंसीको लागि भिटामिन लगायतका सामाग्री वितरण गरेको थियो । आगामी दिनमा पनि यस्ता सामग्री वितरण गरी कृषिमा जोड दिने थापाको भनाई छ ।

 

 

तपाईको प्रतिक्रिया