सुनसरीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली एक हजार दरका नक्कली नोटहरू बरामद भएसँगै एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले पुष्टि गरे ।

उनका अनुसार भारतीय स्कोरपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोलाको पुलनजिकबाट आइतबार नोटहरू बरामद गरिएको हो ।

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले सुरुमा बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो ।

शंकास्पद अवस्थाको स्कोरपियो गाडी राखेर खानतलासी गर्दा पछाडिको भागमा लुकाईछिपाई ल्याइएको नक्कली नोटहरू बरामद भएको रेग्मीले बताए ।

प्रहरीले स्कोरपियो चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयदलाई पक्राउ गरेको छ । स्कोरपियोमै सवार रहेका अर्का व्यक्ति फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

रेग्मीका अनुसार बरामद भएको रकम, स्कोरपियो र चालकलाई नियन्त्रणमा लिएर विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाइएको छ ।

तपाईको प्रतिक्रिया