सोमबारको जेन-जी आन्दोलनमा राज्यबाट गरिएको हिंसा केवल त्रासदीपूर्ण मात्र होइन, नेपालको वर्तमान राजनीतिक र प्रशासनिक अवस्थाको भयावह प्रतिबिम्ब हो। निशस्त्र, निर्दोष युवामाथि गरिएको गोली प्रहारले हाम्रो लोकतन्त्रको वास्तविक अनुहार उदाङ्गो बनाएको छ। दर्जनभन्दा बढी नागरिकले ज्यान गुमाएको यो घटनाले सरकार, सुरक्षा निकाय र समग्र राज्य संयन्त्रको चरित्रमाथि गम्भीर प्रश्न उठाएको छ।
अत्यधिक दमन– सुरक्षा निकायको पतनशीलता
विरोध प्रदर्शन लोकतान्त्रिक अभ्यास हो। त्यसमा क्रोध, उर्जा र केही हदसम्मको अव्यवस्था सम्भाव्य हुन्छ। यस्ता आन्दोलनहरूमा ‘घुसपैठ’ को सम्भावना रहने भए पनि त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारी राज्यकै हो—सन्तुलित र मानवीय उपायबाट। तर, सुरक्षाकर्मीले जुन क्रूरता देखाए, त्यो कुनै पेशागत प्रशिक्षण वा मानवीय संवेदनाबाट प्रेरित थिएन। गोली हान्नु र हत्या गर्नु सुरक्षा रणनीति हुन सक्दैन।
सुरक्षाकर्मीको यस्तो चरित्र आकस्मिक होइन—यो राजनीतिक दलहरूद्वारा सुरक्षात्मक संस्थाको विघटनकारी प्रयोगको परिणाम हो। प्रहरी बललाई जनसेवामा होइन, शक्तिको विस्तार, सलामी, गुलामी र मलामी संस्कारमा प्रयोग गरिँदै आएको छ। नेतृत्व चयनमा हुने चलखेल र लेनदेनले प्रहरीको व्यावसायिकता पूर्णरूपमा ध्वस्त भएको छ। आजको प्रहरी संगठन आम जनताको होइन, सत्ता पक्षका नेताहरूको आदेशमा परिचालित निजी मिलिसिया जस्तो देखिन थालेको छ।
सामाजिक सञ्जाल बन्द – शासकीय अहंकारको चरम
जेन-जी आन्दोलनसँगै सरकारले समग्र सामाजिक सञ्जाल र इन्टरनेट प्ल्याटफर्महरू एकसाथ बन्द गर्नु सरकारको आम नागरिकप्रतिको असंवेदनशीलता र शासकीय अहंकारको स्पष्ट प्रमाण हो। यी माध्यमहरू अब केवल मनोरञ्जनका साधन छैनन्—जनजीवनका अपरिहार्य अङ्ग भइसकेका छन्। सूचना बन्द गरेर जनताको आवाज दबाउने प्रवृत्तिले सरकार नागरिकभन्दा डराएको, गम्भीर संकटमा रहेको र आफूलाई मात्र जोगाउन खोजेको देखाउँछ।
नेपालको गहिरिँदो संकट
आजको नेपाल जटिल र बहुआयामिक संकटको भुमरीमा फँसेको छ। राज्य संस्थाहरू असफल हुँदै गएका छन्, जनविश्वास गुमाएका छन्। शिक्षा, स्वास्थ्य र सेवा प्रवाहमा सरकारको उपस्थिति निराशाजनक छ। संसार डिजिटाइजेसनको युगमा द्रुत गतिमा अगाडि बढिरहेको बेला नेपाल ड्राइभिङ लाइसेन्स छाप्न नपाएर लथालिङ्ग अवस्थामा छ।
यो सबैको मूल कारण – भ्रष्टाचार, जातिवादी मानसिकता र राजनीतिक संस्कारको अधोगति। जेन-जी आन्दोलनले भ्रष्टाचारविरुद्धको जनआक्रोशलाई प्रतिनिधित्व गर्छ। उनीहरूको आवाजमा केवल आक्रोश छैन—वैकल्पिक राजनीतिक चेतना छ, जसले अहिलेको जड, जातिवादी, स्त्रीद्वेषी र पुरातनपन्थी शासन प्रणालीको विकल्प खोजिरहेको छ।
राजनीतिक दलहरू, विशेषतः आफूलाई क्रान्तिकारी र कम्युनिष्ट बताउनेहरू, व्यवहारमा झन् बढी प्रतिगामी, विभेदकारी र शक्तिकेन्द्रित देखिएका छन्। वर्ग, जात र लिंगको आधारमा योग्यताको मूल्याङ्कन हुने व्यवस्थाले समानता, समावेशिता र जवाफदेहीताको ठाउँ मेटाउँदै लगेको छ।
अबको मार्ग – जनताप्रति उत्तरदायित्व
जेन-जी आन्दोलन जसले सुकै आयोजना गरे पनि त्यो आन्दोलनप्रति व्यापक जनसमर्थन छ। त्यसलाई दमन गरेर होइन, संवाद र आत्मसमीक्षाबाट सम्बोधन गर्नुपर्छ। आन्दोलनकारीलाई बदनाम गर्ने, तिनमाथि दमन गर्ने रणनीति सरकारको आत्मघाती विकल्प हुनेछ। यसले न सरकारको आयु बढाउँछ, न जनताको आक्रोश मेटिन्छ।
अहिलेको प्रमुख आवश्यकता भनेको नयाँ राजनीतिक विचार, नयाँ नेतृत्व र नयाँ संस्थागत अभ्यास हो। वर्तमान नेतृत्व—ओली, प्रचण्ड, देउवा र यिनका समकक्षीहरूसँग अब समाधान दिने सामर्थ्य छैन भन्ने कुरा जनताले बुझिसकेका छन्। म्याद गुज्रेको औषधिले रोग निको हुँदैन, पुराना नेताहरूको सोचले नेपालको दिशा परिवर्तन हुँदैन।
प्रधानमन्त्री ओलीलाई स्पष्ट सन्देश
सोमबारको घटनामा सडकमा बगाएको रगत, कलिला युवाहरूको बलिदान र व्यापक जनआक्रोशको पृष्ठभूमिमा प्रधानमन्त्री केपी शर्मा ओली अझै कुर्सीमा टाँसिइरहनु लोकतन्त्रप्रतिको अपमान हो। अब तपाईंको समय सकिएको छ।
जनताले वैकल्पिक सोच, नयाँ पुस्ता र जवाफदेही नेतृत्व खोजिरहेका छन्। वर्तमान सरकारको नैतिक र राजनीतिक वैधता अब समाप्त भइसकेको छ।
प्रधानमन्त्री ओलीजी – योर टाइम इज अप।















