बुढीगंगा (मोरङ) — देशभर जेन्जी समूहको आन्दोलनका कारण अधिकांश स्थानीय तह र सरकारी कार्यालयहरूमा तोडफोड तथा अराजक गतिविधि चलेको बेला मोरङको बुढीगंगा गाउँपालिका भने शान्त र सुरक्षित रह्यो।
गाउँपालिका शान्त रहनुको श्रेय स्थानीय नागरिक, जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकायबीचको सुदृढ समन्वयलाई जानेको गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले बताउनुभयो।
शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा धन्यवाद कार्यक्रममा अध्यक्ष थापामगरले सम्बोधन गर्दै भन्नुभयो,
“देशका विभिन्न भागमा हिंसात्मक गतिविधि भइरहँदा हाम्रो गाउँपालिकाले आपसी एकता, सहकार्य र शान्तिको उदाहरण प्रस्तुत गरेको छ। यो सम्पूर्ण बुढीगंगावासीको सचेतना र आपसी विश्वासको परिणाम हो।”
कार्यक्रममा अध्यक्ष थापामगरले गाउँपालिकाको विकास, सुशासन र सामाजिक सद्भावका लागि सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले दिपावली र छठ पर्वले ल्याउने प्रकाश, आस्था र मिलनको सन्देशले समाजमा शान्ति, सद्भाव र प्रगतिको भावना बढाउने विश्वास व्यक्त गर्नुभयो।















