बर्दिया राष्ट्रिय निकुञ्जबाट बस्ती पसेको हात्तीले गत बुधबार बिहानपख ठाकुरबाबा–४ सैनवारका दिनेश वन सन्यासीको पक्की पसल भत्कायो । संयोगबस पसलमा कोही थिएनन् । सन्यासीका परिवार पसल छेउको घरमा थिए । सोही हात्तीले छिमेकी रमेश भण्डारीको घरमा पसेर अन्नपातसमेत नोक्सान ग-यो । रातभर बस्ती ’round विध्वंस गरेको हात्तीले स्थानीय बालीनालीमा पनि क्ष्ाित पु-यायो ।

साँझ नपर्दै गाउँ पसेको हात्ती गाउँलेले रातभर होहल्ला गरेर भगाउन प्रयास गर्दासमेत बस्तीबाट भागेन । बिहानीपख नेपाली सेनाको सैनवार चेक पोस्टका सेनाले हवाई फयरिङ गरेपछि बल्ल हात्ती निकुञ्जभित्र पस्यो । सेनाले हात्ती भगाए पनि फेरि फर्केर आउने त्रासमा गाउँलेहरू छन् ।

खाता जैविक मार्ग क्षेत्रमा पर्ने मधुवन नगरपालिका–५ मा सोमबार बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएपछि सो गाउँ शोकमा छ । मान्छे मार्ने बाघ अझै पनि सामुदायिक वनमा यताउति गरिरहेको भन्दै स्थानीयबासी त्रसित छन् । वडा कार्यालयले सर्वसाधारणलाई वन क्षेत्रमा प्रवेश नगर्न र बस्तीमा पनि सचेत रहन सूचना जारी गरेको छ । बस्तीमा जहिल्यै वन्यजन्तुको त्रास रहेको भन्दै स्थानीयबासीले चिन्ता व्यक्त गरेका छन् । खाता जैविक मार्ग क्षेत्रमा वन्यजन्तुको आक्रमणमा परी ४ वर्षयता ११ जनाको ज्यान गइसकेको छ ।

केही दिनयता ठाकुरबाबा–४ सैनवार, बसुरिया र बर्गदा गाउँका स्थानीयबासी पनि रातमा चैनसँग सुत्न सकेका छैनन् । रात परेपछि गाउँका बुढापाका र केटाकेटी घरभित्र पस्छन् । युवाहरू भने सडकमा जम्मा हुन्छन् । निकुञ्जबाट हात्ती गाउँ पस्ने हो कि भनेर उनीहरू रातभर जाग्राम बस्छन् । हात्ती बस्ती पस्न थालेको थाहा पाउनासाथ होहल्ला गर्छन् । आगोको धुनी बाल्छन् । भाडाकुँडा ठटाएर हात्ती धपाउने प्रयास गर्छन् । तैपनि हात्ती बस्ती पसेर क्षति गरेरै छाड्छ ।

सिंगो गाउँबस्ती नै यतिखेर जंगली हात्तीको त्रासमा छ । निकुञ्जबाट निस्केको जंगली हात्तीले गाउँमा पसेर बालीनाली र घरगोठ सखाप पार्न थालेपछि बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सैनवार, बसुरिया र बर्गदा गाउँका बासिन्दाहरू हिजोआज हात्तीको डरले रातभर जाग्राम बस्न थालेको स्थानीय कालुराम थारूले बताए । दिनहँुजसो गाउँमा हात्ती पसेर आतंकित पार्न थालेपछि मध्यवर्ती क्षेत्रका स्थानीयबासी आप्mनो ज्यान जोगाउन रातभर जाग्राम बस्न बाध्य भएको थारू बताउँछन् ।

मात्तिएको एउटा जंगली हात्ती विगत एक सातादेखि निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सैनवार गाउँमा दिनहुँजसो पस्ने गरेको स्थानीय कृष्णबहादुर भण्डारीले बताए । एक सातायता जंगली हात्तीले गाउँमा त्रास फैलाएको भण्डारीले बताए ।

रात पर्नासाथ त्रासमा बस्नु गाउँलेहरूको दैनिकी भइसकेको छ । मात्तिएको हात्तीलाई गाउँ पस्नबाट रोक्न निकुञ्जमा कयौंपटक अनुरोध गरेको तर निकुञ्जले खासै चासो नदिएको स्थानीयबासी बताउँछन् । ‘दिनहुँजसो हात्ती गाउँ पस्छ । बालीनाली त परै जावस् ज्यान जोगाउनै गाह्रो भइसक्यो,’ स्थानीय लालसरा सावदले दुखेसो सुनाइन् ।

निकुञ्जले हात्ती नियन्त्रण गर्न नसकेको भन्दै स्थानीय आक्रोसित भएका छन् । मध्यवर्ती क्षेत्रमा निकुञ्जले लाखौं रुपैयाँ खर्च गरेको भने पनि आफूहरूलाई निकुञ्जले पीडा मात्र दिएको गाउँलेको आरोप छ ।

निकुञ्ज आसपासका गाउँमा बर्सेनि जंगली हात्तीले ठूलो जनधनको क्षति गर्दै आएको भए पनि निकुञ्जले जंगली जनावरबाट हुने क्षति रोक्न कुनै दीर्घकालीन योजना नबनाएको स्थानीयबासीको आरोप छ । वन्यजन्तुलाई गाउँ पस्नबाट रोक्न निकुञ्जको सीमा क्षेत्रमा पक्की पर्खाल लगाउनुपर्ने स्थानीयबासीको माग छ । सधैं गाउँ पसेर आतंक मच्चाउने हात्ती, बाघलाई डार्ट गरेर अन्यत्र स्थानान्तरण गरे मात्र आफूहरू सुरक्षित हुने स्थानीयको भनाइ छ ।

तपाईको प्रतिक्रिया