विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिनेशकुमार (दिवेश) थन्दारको पहिलो उम्मेदवारी दर्ता भएको छ ।
केन्द्रीय नेताहरु प्रल्हाद साह, दिनेश साहलगायतका नेता कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । बिहान ११ः३० बजे उम्मेदवारी दर्ता गराएर राप्रपाको टोली मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट बाहिरिएको छ ।
ग्रामथानमा राप्रपाका थन्दार मनोनयन दर्ता गराउने पहिलो उम्मेदवार बनेका छन् । मोरङको ग्रामथानमा अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । अध्यक्ष पदको मनोनयन दर्ताका लागि मुख्यनिर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलहरुलाई अलगअलग समय दिएको छ ।
सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार मनोनयन दर्ताका लागि जनमत पार्टीका लागि १०ः३० बजे , राप्रपालाई ११ बजे, नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई ११ः३० बजे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई १२ बजे तथा मंगोल नेशनल अर्गनाइजेसनलाई १२ः३० बजेको समय दिइएको छ ।
दलका लागि निर्धारण गरिएकोबाहेक अन्य समयमा अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गरिने उनको भनाइ छ ।
ग्रामथानको अध्यक्षमा एमालेले तुलसीराम विश्वास, कांग्रेसले बलराम सरदार, माओवादीले नमोनारायण माझी, एकीकृत समाजवादीले दिलबहादुर विश्वकर्मा, रास्वपाले नवीनकुमार विश्वास र राप्रपाले दिनेशकुमार (दिवेश) थन्दारलाई उम्मेदवार बनाएका छन् ।
ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । यसअघि २०७९ मा कांग्रेसका जयप्रकाश गच्छदार अध्यक्ष निर्वाचित भएका थिए । उनको गत असार ३ गते निधन भएसँगै मंसिर १६ गते उपनिर्वाचन हुने भएको छ ।