धरान : सुनसरीको धरानमा एक महिलाको हत्या गरी शव लसुनेको रुखमुनि फालिएको अवस्थामा फेला परेको छ। सोमबार दिउँसो धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनभित्र अन्दाजी ३० वर्ष जतिकी देखिने महिलाको शव भेटिएको हो।
स्थानीयवासी गोठालो गएका बेला शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। शव भेटिएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ।
सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार शव भेटिएको स्थानमा फरेन्सिक टोलीसहित तालिम प्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान अगाडि बढाइएको छ। उनका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ भने कोशी प्रदेशका विभिन्न प्रहरी इकाइहरूसँग हुलियाका आधारमा समन्वय भइरहेको छ।
शवको अवस्था र घटनास्थलको प्रारम्भिक अवलोकनका आधारमा महिलाको घाँटी कसेर हत्या गरिएको आशंका गरिएको छ। त्यसपछि शवलाई लसुनेको रुखमुनि अड्याएर छाडिएको देखिएको प्रहरीले जनाएको छ।