मोरङको केराबारीबाट प्रहरीले बुधबार १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।केराबारी गाउँपालिका–७ घर भएका ३५ वर्षीय सुजन रानामगर पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले दिउँसो २ः३० बजेतिर रानामगरलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनी लागुऔषध मुद्दाका फरार प्रतिवादी हुन् । जिल्ला अदालत मोरङले लागुऔषध मुद्दामा २०७५ साल असोज १७ गते रानामगरलाई १ वर्ष ९ महिना १७ दिन कैद र १ लाख रूपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो ।
अदालतको कैद र जरिबानाको फैसला गरेको भए पनि उनी सजाय भुक्तान नगरिकन लामो समयदेखि फरार थिए । प्रहरीको खोजी सूचीमा रहेका रानामगर अदालतले दोषी ठहर गरेको ७ वर्षपछि पक्राउ परेका हुन् ।
उनलाई प्रहरीले जिल्ला अदालत मोरङमा बुझाएको छ । प्रहरीले पेस गरेपछि अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

तपाईको प्रतिक्रिया