सुनसरी । नेपाली काँग्रेसले सुनसरीका चार वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । सुनसरी क्षेत्र नं। १ मा क्षेत्रीय सभापति सुजेन्द्र तामाङ उम्मेदवर बनेका छन् । तामाङ काँग्रेसका नेता शेखर कोइराला निकट रहेकोमा विशेष महाधिवेशनका क्रममा गगन थापा पक्षमा खुलेका थिए। क्षेत्रबाट उनको नाम सिफारिस नभएको भएपनि टिकट पाएका हुन् ।
क्षेत्र नं। २ मा काँग्रेसले राजीव कोइरालालाई उम्मेदवार बनाएको छ । २०७४ मा कोसी प्रदेश संसदीय दलको नेता भएका कोइराला २०७९ को प्रदेश सभा निर्वाचनमा २९२० मा पराजित भएका थिए । शेखर कोइराला समूहका उनी काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य हुन् ।
सुनसरी क्षेत्र नंं। ३ मा दुहबी नगरपालिकाका प्रमुख बेद गच्छदारलाई काँग्रेसले उम्मेदवार बनाएको छ । सो क्षेत्रबाट विजयकुमार गच्छदारले सातौं पटक उम्मेदवार हुने इच्छा व्यक्त गरेको भएपनि काँग्रेसले बेदलाई टिकट दिएको हो ।
बेद दुहबी नगरपालिकामा करिब दोस्रो कार्यकालको लागि प्रमुख छन् । सो क्षेत्रबाट नेकपा एमालेले भगवती चौधरीलाई पुनः उम्मेदवार बनाएको छ । चौधरीले अघिल्लो निर्वाचनमा बिजय गच्छदारलाई पराजित गरेकी थिइन् ।
सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीले टिकट पाएका छन् । सो क्षेत्रबाट उनी अघिल्लो निर्वाचनमा विजयी भएका थिए । उनी शेरबहादुर देउवा पक्षका हुन् ।
















