झापा । झापाको भद्रपुर नगरपालिका–५ बसपार्कबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित दुई जना पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले बुधबार दिउँसो बिर्तामोड नगरपालिका–२ फूलबारी टोलका २१ वर्षीय प्रकाश तामाङ र बिर्तामोड–४ बिर्ता बजारका १९ वर्षीय मौसम तामाङलाई पक्राउ गरेको हो । दुवै जनालाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा प्लाष्टिकको पोका पारी मौसम तामाङले मुखभित्र लुकाइछिपाइ ल्याएको अवस्थामा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मौसमको मुखबाट ५ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । यो घटनाले मुखभित्र लुकाएर पनि ब्राउन सुगरको ओसारपसार हुने गरेको पत्ता लागेको छ ।दुवै जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
















