इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज (साउन १२ गते) दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालद्वारा हस्ताक्षरित आदेश अनुसार तोकिएको चार किल्ला र सिमनाभित्र कसैले आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न पाइने छैन।
कर्फ्यू जारी गरिएका तोकिएका क्षेत्रहरू:
पूर्व: पकली चोकसम्म, पश्चिम: कोशी ब्यारेजको पुलसम्म
उत्तर र दक्षिण: महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म
इनरुवा बजार क्षेत्र
प्रशासनले तोकिएको क्षेत्रभित्र शान्ति सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटना हुन नदिन यो आदेश जारी गरिएको र सबैलाई यसको पूर्ण पालना गर्न आग्रह गरेको छ।























