काठमाडौँ । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालमाथि आइतबार आफ्‍नै कार्यकर्ता रतन तिरुवाबाट जुत्ता प्रहार भएको घटनाले राजनीतिक नेतृत्वप्रतिको जनआक्रोशलाई थप सतहमा ल्याएको छ ।

कसैलाई ताकेर मानवीय क्षति हुने गरी वा चोटपटक पुर्‍याउने गरी भएका घटना आफैंमा अपराध हो। मुलुकी अपराध संहिता ऐन २०७४ ले कसैलाई लक्षित गरी कुनै वस्तुले प्रहार गरेको घटनालाई अभद्र व्यवहारको कानुन अनुसार कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।

यद्यपी आइतबार दाहालमाथि पूर्व माओवादी लडाकुका छोरा रतनबाट भएको प्रहार प्रयास सफल भएन। सुरक्षा घेराभित्र प्रवेश गरेर जुत्ता प्रहार गरेको घटनाले एकातिर नेतामाथिको चरम असन्तुष्टि झल्काएको छ। साथसाथै नेताको सुरक्षामा थप संवेदनशील र सतर्क रहने सन्देश पनि यसले दिएको छ।

दाहालको निवास सुरक्षादेखि सवारीका बेला अगुवापछुवासम्म करिब ६० जना सुरक्षाकर्मी २४ सै घण्टा तैनाथ रहने गरेका छन्।आइतबारको कार्यक्रममा पनि प्रहरी र सशस्त्रको फौज सुरक्षामा खटिएका थिए। बीचमै सुरक्षाकर्मीले जुत्ता समाएका कारण ताकेर गरिएको प्रहार असफल भएको छ। तर यो घटनाले तत्कालीन माओवादी नेतृत्व र हाल सत्तारुढ दलको अध्यक्ष रहेका दाहालसँग आफ्‍नै कार्यकर्तामा चरम आक्रोश र असन्तुष्टि रहेको देखाएको छ।

काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार जुत्ता हान्‍ने तिरुवाका बुवा पूर्व माओवादी लडाकु हुन्। सशस्त्र द्वन्द्व कै क्रममा उनका बाबु मोहन तिरुवाले ज्यान गुमाए। मोहनका छोरा रतन लोकसेवा आयोगको तयारी गरिरेहेका छन्।

त्यसो त दाहालमाथि यसअघि २०६९ कार्तिकमा काठमाडौंको भृकुटीमण्डपमा आफ्‍नै कार्यकर्ता पदम कुँवरले गालामा चड्कन हाने। २०७० को संविधानसभा चुनावमा दाहालसँगै कुँवर काठमाडौं १० मा चुनाव उठे। २०६८ वैशाख १९ गते तत्कालीन् नेकपा माओवादी केन्द्रका तर्फबाट सभासद रहेका झक्कुप्रसाद सुवेदीमाथि तिनकुनेमा प्रेमराज देवकोटाले चड्कन हाने।

२०६७ माघ ८ गते तत्कालीन् एमाले अध्यक्ष झलनाथ खनाललाई आफ्‍नै कार्यकर्ता देवीप्रसाद रेग्मीले कार्यक्रम हलभित्रै चड्कन हानेका थिए। २०७३ मंसिर २२ गते पूर्व प्रधानमन्त्री तथा तत्कालीन् नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराईमाथि पोखरामा सञ्जीव भट्टराईले जुत्ता प्रहार गरेका थिए। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया