काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण मानिसझैं पहिलेकै अवस्थामा फर्किन कम्तीमा ६ महिना लाग्ने प्रत्यारोपणमा संलग्न चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएपछि आराम गरिरहेका प्रधानमन्त्री ओली चिकित्सकको निगरानीमा छन् । यद्यपि, डिस्चार्जपछि प्रधानमन्त्री निवास बालुवाटारमा चिकित्सकको निगरानीमा बसेर उनले पदीय दायित्वअनुसारको काम गर्न सक्ने चिकित्सकको भना

प्रधानमन्त्रीका निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्री ओलीलाई साधारण नागरिक जत्तिकै सक्रिय हुन अझै ६ महिना लाग्छ । ‘पहिलो एक महिना उहाँलाई औषधिको बढी डोज भएकाले संक्रमणको सम्भावना रहन्छ त्यसैले भीडभाडमा जानु जोखिम हुन्छ । ६ महिनापछि भने साधारण मान्छेझैं सक्रिय रूपमा जीवन बिताउन सक्नुहुन्छ,’ प्रा. डा. शाहले भनिन् ।

प्रधानमन्त्री ओलीले डिस्चार्जपछि दैनिक कार्यहरू सचिवालयबाटै गर्न मिल्ने उपचारमा संलग्न चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार पारिवारिक निर्णयपछि प्रधानमन्त्री ओलीलाई डिस्चार्जको तयारी थालिनेछ ।

डिस्चार्ज गर्दा फरक नपर्ने भए पनि घरमा आवश्यक व्यवस्थापनको तयारी पूरा नभएकाले केही समय अस्पताल बसाइ लम्बिएको मिर्गौला प्रत्यारोपण विशेषज्ञ प्रा.डा. शाहले जानकारी दिइन् । ‘घरमा पनि तयारी गर्नुपर्ने हुन्छ । तयारी अझै पूरा भइसकेको छैन । घरबाट पनि एक–दुई दिन अझै राखिदिनुहोस् भनेर रिक्वेस्ट आएको छ । यद्यपि, प्रधानमन्त्रीे अस्पतालबाट छिटो डिस्चार्ज हुन चाहेका छन्,’ उनले भनिन् ।

प्रधानमन्त्रीलाई सहज नहुँदासम्म डिस्चार्ज नगरिने प्रत्यारोपणमा संलग्न चिकित्सकले बताएका छन् । प्रा.डा. शाहले भनिन्, ‘अपेक्षाकृत सुधारका लक्षण देखिएका छन् । हामी यथाशीघ्र चाँडो डिस्चार्ज गर्छौं,’ उनले भनिन् ।

प्रधानमन्त्रीको मिर्गौलाले कम मात्रामा काम गर्न थालेपछि डायलाइसिस दिँदै आए पनि सोही समयबाट प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिँदै आएका थिए । डायलाइसिसभन्दा प्रत्यारोपण गरिएका बिरामीको स्वास्थ्य अवस्था राम्रो हुने मिर्गौला रोग विशेषज्ञहरू बताउँछन् ।

शाहले भनिन्, ‘चार महिनादेखि प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्दै आइरहेका थियौं । सबै कुरा मिलिसकेपछि एक महिनाअघि त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण गर्ने भन्ने तय भइसकेको थियो ।’

मिर्गौला दाता समीक्षा संग्रौला ज्ञवालीको स्वास्थ्य अवस्था पनि सामान्य बन्दै गएको छ । उनले केही दिन अझै अस्पतालमै आराम गर्न चाहेको प्रत्यारोपण सर्जन प्रा.डा. प्रेम ज्ञवालीले बताए । एक साताअघि बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया