खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा भएको खुल्ला महिला पुरुष भलिवल प्रतियोगिता सकिएको छ । “खेल खेलौ स्वस्थ्य रहौं, खेलको माध्यमद्धारा भाईचाराको विकास गरौं” भन्ने नाराका साथमा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना भएको खुल्ला महिला/पुरुष भलिवल र एकल नृत्य प्रतियोगिता सकिएको हो ।

सप्तेश्वर छितापोखरीस्थित तृतीय भञ्ज्याङमा मंगलबार भएको फाईनल खेलमा पुरुषतर्फ उदयपुर स्पोर्टस क्लब प्रथम, उदयपुरकै बेलका नगरपालिका रामपुर दोश्रो, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तेश्रो तथा दिप्रुङ चुईचुम्मा गाउँपालिका सान्त्वना भएका छन् । यस्तै महिलातर्फ, दिप्रुङ चुईचुम्मा गाउँपालिका याम्खा प्रथम, मानेभन्ज्याङ गाउँपालिका ओखढुंगा दोश्रो, ऐसेलुखर्क गाउँपालिका तेश्रो र उदपयुर स्पोर्टस क्लब सान्त्वना भएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका आईटी अफिसर मणिचन्द्र राईले जानकारी दिए ।

पुरुषतर्फ उदयपुर स्पोर्टस क्लवका हरि अधिकारी र महिलातर्फ याम्खाकी कुमारी कुवर उत्कृष्ट खेलाडी भएकी छन् । पुरुष भलिवल प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ५० हजार, दोश्रो हुनेले ८० हजार, तेश्रो हुनेले ४० हजार, सान्त्वना हुनेले २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । महिला भलिवल प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार, दोश्रो हुनेले ४० हजार, तेश्रो हुनेले ३० हजार, सान्त्वना हुनेले २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट महिला खेलाडीलाई जनही तीन हजार र पुरुष खेलाडीलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिएको छ । यस्तै, एकल नृत्य प्रतियोगितामा खोटेहाङ गाउँपालिका चिप्रिङकी सनिता राई प्रथम, दिप्रुङ चुईचुम्मा गाउँपालिका सछितापोखरकी सम्झना भुजेल दोश्रो, सोही ठाउँकी पवित्रा खड्का तेश्रो र निशा कट्वाल सान्त्वना भएकी छन् । उनीहरुले जनही १० हजार, सात हजार, पाँच हजार र दुई हजार नगद पुरस्कार पाएका छन् । विजयी टिम, उत्कृष्ट खेलाडीलाई गाउँपालिका अध्यक्ष भुपेन्द्र राई र उपाध्यक्ष सपना राईले पुरस्कार वितरण गरेका थिए । गएको शनिबारबाट सुरु भएको प्रतियोगितामा पुरुषतर्फ १६ टिम एबंम् महिलातर्फ ७ टिमले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया