ठमाडौं । भरतपुर महानगरपालिकाले कोभिड–१९ का शंकास्पद वा संक्रमितको उपचार गर्न ७२ घण्टामै अस्थायी अस्पताल बनाएको छ । भरतपुर–१० स्थित चितवन प्रदर्शनी केन्द्र (एक्स्पो सेन्टर) मा निर्माण गरिएको अस्पताल शुक्रबार बिहानबाट सञ्चालनमा ल्याइने मेयर रेणु दाहालले बताइन्

७० बेडको अस्पताल सञ्चालन गर्ने भनिए पनि तत्कालका लागि ५० बेडबाट सेवा सुरु गर्न लागिएको उनले जानकारी दिइन । ‘थप १० बेडको आईसीयू र १० बेडको एचडीयू सेवा पनि सञ्चालन हुन्छ, त्यसको काम जारी छ,’ उनले भनिन्, ‘जनरल वार्ड सञ्चालनमा आएलगत्तै विशिष्ट उपचार कक्ष पनि तयार हुनेछ ।’

आईसीयू, एचडीयू र जनरल वार्डका लागि चाहिने औजार उपकरण यहीँका अस्पतालबाट झिकाइएको महानगरले जनाएको छ । ‘भवन हामीसँग तयारै थियो । बेड र अन्य औजार उपकरण सरकारी अस्पताल, दुई वटा मेडिकल कलेज, क्यान्सर अस्पतालबाट जुटाएका हौं,’ दाहालले भनिन् । उनका अनुसार अस्पताल सञ्चालनको जिम्मेवारी महानगरले लिनेछ भने संघीय सरकार र प्रदेश सरकारका सम्बन्धित मन्त्रालयको समन्वयमा खर्च व्यवस्थापन हुनेछ ।

चिकित्सक डा. भोजराज अधिकारीको संयोजकत्वमा कोरोना विशेष अस्थायी अस्पताल व्यवस्थापन समिति बनेको छ । ‘भएको जनशक्ति र औजार उपकरणलाई केन्द्रीकृत गरी एकै ठाउँबाट विशेष उपचार सेवा दिन यस्तो अस्पताल उपयुक्त हुने देखेर काम गरेका हौं,’ डा. अधिकारीले भने । यो अस्पताल आमसर्वसाधारणको ओहोरदोहोर र जमघट हुने ठाउँमा नभएको उनले बताए ।

अस्पतालमा तत्काल १४ जना स्वास्थ्यकर्मी परिचालन हुनेछन् । सरकारले तलबको ७५ प्रतिशत प्रोत्साहन भत्ता दिने बताए पनि उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई महानगरले शतप्रतिशत नै भत्ता दिने दाहालले घोषणा गरिन् । महानगरले मंगलबार ७२ घण्टाभित्र अस्थायी अस्पताल बनाउने निर्णय लिएको थियो ।

उता, भरतपुर अस्पतालले १९ शय्याको आइसोलेसन वार्ड तयार पारेको छ । सरकारीबाहेक जिल्लामा रहेका दुई शिक्षण अस्पताल र निजी अस्पतालले यो स्तरमा आइसोलेसन वार्ड बनाएका छैनन् । जिल्ला प्रशासनले शिक्षण अस्पताललाई २०/२० वटासमेत गरेर जिल्लाभरमा ७५ आइसोलेसन वार्ड बनाउन भनेको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया