विराटनगर : सुनसरीको देवानगञ्ज–३ का प्रल्हाद शर्माका २ वर्षीय छोरा सुशान्तलाई कुकुरले टोक्यो। त्यही कुकुरले टुनटुन शर्माका २ वर्षीय छोरा रागवलाई पनि टोक्यो। रेविजविरुद्धको खोज लगाउन सुशान्त र रागवलाई अभिभावकले शुक्रबार विराटनगरको कोसी अस्पताल ल्याए।

तर, अस्पतालले कोरोना संक्रमणको कारण देखाउँदै उपचार गर्न नसकिने भन्दै फर्काइदियो। धेरै ठाउँबाट दबाब आएपछिमात्र चिकित्सक एन्टिरेविज भ्याक्सिन लगाउन तयार भए। एक पटक त भ्याक्सिन लगाएर घर पठाइयो। तर, यो भ्याक्सिन चार पटकसम्म लगाउनुपर्छ। चिकित्सकले भने अर्को पटक अस्पताल नआउनु भनेर पठाएको प्रल्हादको गुनासो छ। उनले भने, ‘धेरैतिर हारगुहार गरेपछि सुइ लगाइदिए पनि अब नल्याउनु भनेका छन्। रेविजविरुद्धको भ्याक्सिन पूर्ण गर्न छोरालाई कहाँ लैजानु भन्ने चिन्ता थपिएको छ।’

रुघा लागेपछि बुढीगंगास्थित इलाका प्रहरी कार्यालय नेमुवामा कार्यरत हवल्दार महेन्द्र खंग शनिबार बिहान टंकीसिनवारीस्थित विराट टिचिङ अस्पताल पुगे। उनले स्वास्थ्यकर्मीलाई आफ्नो रगत परीक्षण गर्न आग्रह गरे। तर, कोरोनालाई कारण देखाउँदै उपचार गर्न नसक्ने भनेर फर्काइदिए। इप्रकाका प्रमुख सइ ललनकुमार यादवले बिरामी भएर पुगेकालाई उपचार गराउनुको साटो अस्पतालका कर्मचारी र चिकित्कले उल्टै हप्काएर पठाएको जानकारी दिए।

कोरोना प्रभावको कारण देखाउँदै यहाँका अस्पतालले गम्भीर खालका बिरामीलाई पनि उपचार नगरी फर्काउने गरिएको छ। ठूला सरकारी तथा निजी अस्पताल पनि सुनसान छन्। बिरामीले पूरै भरिने अस्पतालका बेड अहिले प्राय खाली छन्। दैनिक ४० जनासम्म हुने कोसी अस्पतालको अकस्मिक कक्षमा अहिले तीन जना बिरामी मात्रै छन्। कोरोना त्रासले अन्य समस्या भएका बिरामी नलिने र उपचार ठीक नहुँदै डिस्चार्ज दिने प्रचलन स्वास्थ्य संस्थामा बढेको छ।

नागरिक अगुवा रामबाबु दाहालले कोरोना त्रासका कारण अन्य बिरामीले पनि उपचार पाउन नसक्नु दुःखद भएको बताए। यस्तै? पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले ज्वरो, रुघाखोकीका बिरामी उपचारका लागि पुग्दा अस्पतालले नलिने गरेको बताए।

कोसी अस्पतालका वरिष्ठ फिजिसियन डा. रोशन खड्का कोरोना त्रासका कारण चिकित्सक नै असुरक्षित बनिरहेको बताउँछन्। ‘महामारीका रूपमा फैलिएको कोरोनाले विश्वलाई आतंकित पारेको छ,’ उनले भने, ‘बाहिरबाट आउने बिरामी यदि कोरोना संक्रमित भएको खण्डमा सिधा सम्पर्क हुँदा सर्ने भएकाले उपचारमा चिकित्सक डराउन थालेको हुन सक्छ।’

चिकित्सकका लागि पीपीई पनि उपलब्ध नभएका कारण उपचारमा जोखिम बढेको उनी बताउँछन्। कोसी अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मि श्रले अस्पतालमा सबै खाले बिरामीले सहज उपचार पाइरहेको दाबी गरिन्। ‘हामीले आकस्मिक र बहिरंग सेवा खुला नै राखेका छौं,’ उनले भनिन्, ‘आपतकालीन अवस्थामा पनि जस्तो सुकै उपचार गराउन पछि परेका छैनौं।’ तर उपचारका लागि कस्ता खालका बिरामीलाई लिने या नलिने भन्ने कुराको निर्धारण अस्पताल र स्वास्थ्यकर्मीले गर्ने भएकाले उपचार गराउन आवश्यक नपर्नेलाई भने नलिएको हुन सक्ने डा. मि श्रको दाबी छ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उपचारमा आउने बिरामीलाई बेवास्ता गर्न र बिना उपचार फर्काउन नपाइने बताए। चिकित्सकको सुरक्षालाई लिएर सरकार गम्भीर बनेको बताउँदै मन्त्री घिमिरेले उपचारका लागि पुग्ने बिरामी फर्काउने सरकारी वा निजी स्वास्थ्य संस्थामाथि कारबाही गरिने जानकारी दिए।

तपाईको प्रतिक्रिया