प्रदेश १ सरकारले विराटनगरमा कोरोना भाइरस संक्रमितको उपचारका लागि स्थापना गरेको अस्पतालबाट नै कोरोना परीक्षण हुने भएको छ । शुक्रबारदेखि यो सेवा विराटनगरमानै सुरु हुने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

बिहीबार परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट किटसहित काठमाडौंको वीर अस्पतालबाट प्रविधि विज्ञसहितको टोली विराटनगर आएकाले आजबाट परीक्षण सुरु गरिने मुख्यमन्त्री शेरधन राईले बताए । ‘यसअघि धरानबाट मात्रै थियो, अब विराटनगरमा त्यो भन्दा ठूलो रुपमा परीक्षण सुरु गर्दैछौं,’ उनले भने, ‘यो सुरु भएपछि कोरोनाको परीक्षण द्रूत गतिमा हुन्छ ।’

प्रदेशिक प्रयोगशालाका निमित्त प्रमुख जयबेन्द्र यादवले तत्काल परीक्षण सुरु गर्नको लागि ६ सयको परीक्षण गर्न मिल्नेगरी रिएजेन्ट किट र ५० थान पीपीई सामग्रीहरु तयारी अवस्थामा रहेको जानकारी दिए ।

अब प्रदेशका विभिन्न जिल्लाबाट संकलन गरिएको नमूनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अञ्चल अस्पतालको शाखाको रुपमा रहेको कोरोना विषेश अस्पतालबाट एकसाथ परीक्षण हुनेछन् ।

तपाईको प्रतिक्रिया