विराटनगर / विराटनगरका एक व्यापारीको हत्या गर्ने योजना बनाएर आएका भारतीय ‘सार्पसुटर’ १९ वर्षीय कुनाल कुमार सिंहसहित तीन जनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतका न्यायधीश कृष्णमुरारी शिवाकोटीको इजालसले सिंहसहित विराटनगर – ८ का ३१ वर्षीय मन्नुकुमार गुप्ता, सर्लाही गोडैता नगरपालिकाका ५० वर्षीय हरिनारायण झालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न ऐनको दफा ८० बमोजिम थुनुवा पुर्जी दिई कारागार पठाउन दफा ७९ बमोजिम आदेश दिएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । अदालतको आदेशपछि तीनै जना जिल्ला कारागार मोरङ चलान भएका हुन् । मोरङ प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले शुक्रबार मोरङ अदालतमा ‘संगठित रूपमा हातहतियार खरखजनासहित आपराधिक षडयन्त्र उद्योग’ मा पक्राउ परेका तीन र फरार रहेका दुई जना गरेर पाँच जना विरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिवादीको बयान सकिएर पछि सोमबार थुनछेक बहस भएको र आदेश आएको पौडेलले बताउ । थुनछेक बहसमा सरकारकोतर्फबाट सरकारी वकिलको कार्यालय मोरङका सहायक जिल्ला न्यायाधिवक्ता मुकुन्दकुमार रोग्मीले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट पाँच जना कानुन व्यवसायीहरूले प्रतिरक्षा गर्दै बहस गरे । जसमा प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ताहरु माधवराज आचार्य र हेमराज पराजुली तथा अधिवक्ताहरू हेमराज पन्त, नारायणप्रसाद दाहाल र जीवन सापकोटाले बहस गरेका थिए ।

फरार रहेका मोरङको कटहरी गाउँपालिका– ५ का ४३ वर्षीय मन्नुकुमार साह रौनियार र महोतरी जलेश्वर नगरपालिका–४ का २५ वर्षीय टिंकुकुमार झालाई अदालतले पक्राउ पुर्जी जारी गर्दै उपस्थितका लागि ३५ दिनको म्याद दिएको छ । सूचना अधिकारी पौडेलका अनुसार प्रतिवादी बनाइएका दुवै जनाको नाममा रहेको मोबाइलको सिमकार्ड ‘सार्पसुटर’ ले प्रयोग गर्ने गरेको खुलेको छ ।

विराटनगरका खाद्यान्न व्यापारी जितु भनिने जितेन्द्र रायको हत्या गर्न भारतबाट सार्पसुटर मुख्य अभियुक्त मन्नु कुमारले झिकाइएको मोरङ प्रहरीले गरेको अनुसन्धानबाट खुलेको थियो । यस घटनामा अझै दुई जना भारतीय फरार छन् । सिंहसँगै आएका भारतीय अर्का सापसुटर राजुकुमार रौनियार र राजेश झा फरार छन् । उनीहरू भारतीय भएकोले प्रहरीले पक्राउ गरेपछि मात्र प्रतिवादी बनाउने बताइएको छ ।

यस्तो थियो योजना

पक्राउ परेका मुख्य अभियुक्त गुप्ताले पाँच लाख भारतीय रुपैयाँको सुपाडी दिएर विराटनगरमा खाद्यान्नको कारोवार गर्ने व्यापारी रायको हत्या गर्न सार्पसुटर ल्याएको अनुसन्धानबाट खुलेको सरकारी वकिल कार्यालयले तयार पारेको अभियोपत्रमा उल्लेख छ ।

प्रहरीले सिंहलाई गत जेठ २७ गते २ वटा पेस्तोल र त्यसमा लाग्ने ७ राउण्ड गोलीसहित विराटनगरस्थित एक होटलबाट पक्राउ गरेको थियो । पुरानो लेनदेन र रिसईबीका कारण गुप्ताले व्यापारी रायको हत्या गर्न खोजेको खुल्न आएको थियो । पक्राउ परेका गुप्ता जवरजस्ती करणी मुद्दामा कैद भुक्तान गरेर छुटेका व्यक्ति हुन् । झा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरेका व्यक्ति हुन् । पुरानो रिसाईबीलाई लिएर गुप्ताले व्यापारी रायको हत्या गर्ने योजना झालाई सुनाएपछि झाले भारतबाट सार्पसुटर झिकाएको अदालतमा दर्ता गरिएको अभियोगपत्रमा उल्लेख छ । गुप्ता पनि खाद्यान्नको कारोबार गर्ने विराटनगरका व्यापारी हुन् ।

हत्याको योजना बनेपछि सिंह र फरार रहेका अर्का भारतीय नागरिक रौनियार जेठ २६ गते बिहान भारतको सितामढीबाट गौर हुँदै नेपाल प्रवेश गरेका थिए । सोही दिन बस चढेर साँझ विराटनगर बसपार्कमा आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार होटलमा बसेपछि भोलिपल्ट जेठ २७ गते बिहान ६ बजे व्यापारी रायको हत्या गर्न भन्दै पुग्छन् । त्यसदिन व्यापारी राय घरमा हुँदैनन् । राय घरमा नभेटिएपछि पुनः होटलमा फर्किएर उनीहरू गजलमा मस्ती गर्ने योजना बनाएर मदिराको नशामा नाचगानमा व्यस्त हुन्छन् । नाच्ने क्रममा सार्पसुटर कुनाल कुमारले कम्मरमा भिरेको अवस्थामा पेस्तोल देखिएको भन्दै होटलका कर्मचारीले प्रहरीलाई जानकारी गराउँछन् । प्रहरीको टोलीले पेस्तोलसहित उनलाई पक्राउ परेपछि रौनियार भने त्यहींबाट फरार भएका हुन् ।

तपाईको प्रतिक्रिया