विराटनगर /  चालकले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको मोटरसाइकलले ठक्कर दिंदा विराटनगरमा मंगलबार प्रहरी जवान अमितकुमार मण्डल घाइते भएका छन् ।  उनी वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् । टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेका उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ । विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा चेकजाँचमा खटिएका मण्डललाई को ३५ प ४०८७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

ठक्कर दिने मोटरसाइकल र चालक मोरङको बुढीगंगा गाउँपालिका–३ का २४ वर्षीय विशाल राउतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । चालकलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गराउँदा मापसे गरेको खुलेको उनले बताए । भने, ‘चालकले मापसे गरेर लापरबाहीपूर्ण तरिकाले चलाएका कारण चेकजाँचमा खटिएका प्रहरीलाई मोटरसाइकलले ठक्कर दिएको पाइयो ।’

लापरबाही ढंगबाट कुदाएर दुर्घटना गराएपछि उनलाई प्रहरीले कोसी अस्पताल बाहिर, डाँफे चोक, तीनपैनी लगायतका स्थानमा रोक्न खोजेको थियो । तर दुर्घटना गराएपछि फरार रहेका उनलाई प्रहरीले विशेष टोलीले पक्राउ गरेको हो । चालक राउत विरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम अभद्र व्यवहार ऐन अन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डीएसपी खिँएजुले बताए ।

तपाईको प्रतिक्रिया