विराटनगर / विराटनगरको कोसी अस्पतालमा एक साता अघि आएका एक बेबारिसे युवाको उपचारमा समस्या भएको छ ।
देब्रे खुट्टामा घाउ बोकेर अन्दाजी ३५ वर्ष जतिका युवा आएका थिए । तर अहिले त्यही घाउका कारण घुँडादेखि तलको भाग कुहिएको छ । जसका कारण अस्पतालको इमरजेन्सी कक्ष वरपर दुर्गन्ध फैलिएको छ । दुर्गन्धका कारण उपचारका लागि जाने बिरामी, अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी पनि समस्यामा परेका छन् ।

उनको परिचय खुलेको छैन । परिवारका सदस्य र आफन्त पनि भेटिएका छैनन् । बेबारिसे अवस्थामा आकस्मिक कक्षको प्रतीक्षालयमा बसेका लामो समय भए पनि ती युवाको प्रभावकारी उपचार हुन सकेको छैन । अस्पतालले उनको निःशुल्क उपचार सुरु गर्दै एन्टिबायोटिक औषधि पनि चलायो । तर घाउ ठीक हुनुको साटो उल्टै घुँडादेखि मुनीको भाग कुहिएको छ ।

घाउ निको नभएपछि उपचारमा संलग्न चिकित्सकले घुँडादेखि तलको भाग काटेर फ्याल्नुको विकल्प नभएको बताएका छन् । अस्पतालका बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. यज्ञराज खरेलले औषधिले निको हुन नसके कारण संक्रमण रहेको घुँडादेखि तलको भाग तत्काल काट्नु पर्ने बताए । उनले जतिसक्दो चाँडो काटेर नफ्याले यसको संक्रमण शरीरका अन्य अंगमा पनि फैलने जानकारी दिए ।

उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुँगेलले उपचारमा समस्या भएका बेबारिसेको उपचारमा सम्बन्धीत निकायले ध्यान नदिएको बताए । उनका अनुसार खुट्टा कुहिएर अस्पताल दुर्गन्धित हुनुका साथै झिँगा भन्किएको घाउ गन्हाएर वरपर गइसक्नु छैन । तीन तहका सरकार र अनेक थरी सामाजिक नाम दिएर खुलेका संस्था आफ्नै स्वार्थमा केन्द्रीत हुँदा रोगले थलिएका र बेबारिसे बनेकाहरु उपचारविहीन भएर बस्नु परेको ढुँगेलको भनाइ छ ।

आफन्त र परिवारका सदस्य कोही पनि नभएका युवाको चिकित्सकले भने जस्तो उपचार गर्न समस्या भइरहेको अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले बताए । ‘खुट्टा काट्नु अघि कानुनी प्रक्रिया पूरा गर्न बिरामी जिम्मा लिने कोही चाहिन्छ,’ उनले भने, ‘सबै कुरा अस्पतालले गरिदिन्छ भन्दा पनि जिम्मा लिने र कुरुवाका रुपमा बस्ने कोही भेटिएनन् ।’

उनले अहिले पनि संक्रमण रोकथामका लागि अस्पतालको सामाजिक सेवा ईकाईमार्फत औषधि उपचारलाई भने जारी राखिएको बताए । बुढाथोकीले कोही कसैको अंग काटेर फ्याल्नु पर्ने जस्तो कुरा भएकाले पनि जिम्मा लिने नभेटिएको हुन सक्ने बताए ।

तपाईको प्रतिक्रिया