पछिल्लो २४ घन्टामा भारतमा कोरोनाभाइरसबाट १७ हजार २९६ जना संक्रमित भएका छन् ।

भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको दैनिक संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको छ ।

शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएको देखाएको छ ।

अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा कोरोनाभाइरसबाट १७ हजार २९६ जना संक्रमित भएका छन् ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या चार लाख ९० हजार ४०१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, कोरोनाकै कारण भारतमा अहिलेसम्म १५ हजार ३०१ जनाको मृत्यु भएको छ । तीमध्ये ४०७ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको हो ।

मन्त्रालयले स्थानीय समयानुसार शुक्रबार बिहान ८ बजेसम्मको तथ्यांक सार्वजनिक गरेको हो ।

उनीहरुले भारतमा अहिलेपनि एक लाख ८९ हजार ४६३ जना संक्रमित अवस्थामै रहेको जानकारी दिएका छन् ।

त्यसैगरी, अरु दुई लाख ८५ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् । यो तथ्यांकअनुसार कुल संक्रमितमध्ये ५८.२४ प्रतिशत बिरामी संक्रमणमुक्त भएका छन् ।

यसलाई सरकारी अधिकारीहरुले सकारात्मक संकेतका रुपमा व्याख्या गरेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोनाका कारण मृत्यु भएकामध्ये सबैभन्दा धेरै महाराष्ट्र प्रदेशका रहेका छन् । महाराष्ट्र प्रदेशमा मात्रै एक दिनमा १९२ जनाको मृत्यु कोरोनाकै कारण भएको छ ।

त्यसैगरी, केन्द्रीय राजधानीसमेत पर्ने दिल्ली प्रदेशमा ६४ जना, तमिलनाडुमा ४५ जना, गुजरातमा १८ जना, पश्चिम बंगाल र उत्तर प्रदेशमा १५/१५ जना, आन्ध्र प्रदेशमा १२ जना, हरियाणामा १० जना, मध्य प्रदेशमा आठजनाको पनि पछिल्लो २४ घन्टामा मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया