भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लामा नेपाल र भारतका सेनाको संयुक्त सैन्य अभ्यास सोमबारबाट सुरु भएको छ ।‘१५औं सूर्यकिरण’ नाम दिएको उक्त संयुक्त अभ्यासमा आतंकवाद विरोधी अभियान र विपद् व्यवस्थापन अभियान सम्बन्धी दुबै देशका सेनाले अनुभव आदान प्रदान गर्ने बताइएको छ ।

नेपाली सेनाका महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली संयुक्त सैन्य अभ्यासका लागि भारतको पिथौरागढ गएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । संयुक्त बटालीयन स्तरको अभ्यासले दुई देशहरुबीच रक्षा सहयोग र सैन्य सहयोग बढाउने अपेक्षा रहेको भारतको पिथौरागढ प्रशासनले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ । १४ दिनसम्म हुने संयुक्त सैन्य अभ्यासमा दुबै देशका ६५० जना सैनिक तथा सैन्य अधिकारीहरुको सहभागिता रहेको छ ।

नेपालले सन् २०११ देखि भारतसँग नेपाल–भारत ‘सूर्यकिरण’ संयुक्त सैनिक अभ्यास गर्दै आएको छ । एक वर्षमा नेपाल र भारतमा एक–एक पटक अभ्यास हुँदै आएकोमा कोभिड–१९ संक्रमण सुरु भएपछि रोकिएको थियो ।

तपाईको प्रतिक्रिया