भारतमा अपराध गरेको अभियोगमा लागेका एक व्यक्तिले जेल जान नपरोस् भनेर आफ्नै मृत्यु भएको प्रमाणित गर्ने प्रयासमा अर्को व्यक्तिको हत्या गरेको प्रहरीले जनाएको छ।

उत्तर प्रदेश राज्यका ३६ वर्षीय सुदेश कुमारले आफ्नो मृत्यु भएको भनी झुक्याउन आफूले हत्या गरेका व्यक्तिको शव पत्नीसँग मिलेर भीरबाट खसाउन खोजेका थिए।

तर उनले मोटरसाइकलमा राखेर शव लगेको दृश्य सीसीटीभीले खिचेको फेला परेपछि उनको षड्यन्त्र असफल भएको हो।

उनलाई सन् २०१८ मा आफ्नी १३ वर्षीया छोरीको हत्या गरेको अभियोग लागेको थियो। तर कोभिड९१९ महामारी फैलिएको बेलामा उनी हिरासतबाट जमानीमा छुटेको बुझिएको छ।

भारतका केही राज्यमा कोरोरानाभारस महामारीका बेला कारागारमा भिड नहोस् भनेर बन्दीहरूलाई जमानीमा छोडिएको थियो।

तर छोरीको हत्याको अभियोगमा आफू दोषी ठहर हुने र फेरि कारागार फर्किनुपर्ने ठानेर सुदेश कुमारले त्यस्तो षड्यन्त्र बनाएको बताइएको छ।

प्रहरीका अनुसार उनले दोमन रविदासको हत्या नोभेम्बर १९ मा गरेको स्वीकार गरेका छन्। रविदासको जीउडाल सुदेश कुमारको जस्तै थियो।

डकर्मी काम गर्ने रविदासलाई सुदेश कुमारले आफ्नो घर मर्मत गराउन बोलाएका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार मदिरा पिउन दिएर उनले रविदासको हत्या गरेका थिए।

मृतकको शव भोलिपल्ट एउटा खाली जग्गामा फेला पर्‍यो। उनको शरीर नचिनिनेगरी डढेको थियो। तर उनको खल्तीमा सुदेश कुमारको परिचयपत्र थियो।

सुदेश कुमारकी पत्नी अनुपमाले पछि दिल्लीस्थित घरमा उक्त शव आफ्ना पतिको नै भएको भनेर सनाखत गरेकी थिइन्।

तर सुदेश कुमारले आफ्नो मृत्यु भएको देखाउन जालसाजी गरेको प्रमाणित भएपछि अधिकारीहरूले उनी आफ्नी पत्नीलाई भेट्न जान लागेको सुराकी पाए।

उनीहरूको घरमा छापा मारेर उनीहरूले सुदेश कुमारलाई पक्राउ गरे।

षड्यन्त्रमा सहभागी भएको भन्दै उनकी पत्नी पनि पक्राउ परेकी छन्। प्रहरीका एक वरिष्ठ अधिकारीले आफ्ना सहकर्मीको कामको प्रशंसा गरेका छन्।

सुदेश कुमार दम्पतीले गरेको षड्यन्त्र प्रहरीले पत्ता लगाएको भन्दै इराज राजाले प्रहरी टोलीलाई पुरस्कृत गर्ने बताएका छन्। बीबीसी

तपाईको प्रतिक्रिया