अस्ट्रेलियामा कामदारको चरम अभाव भएपछि सरकारले तत्कालै यहाँ आउन चाहने अन्तर्राष्ट्रिय विद्यार्थी र वर्किङ होलिडे भिसामा आउने कामदारको भिसा शुल्क फिर्ता गर्ने भएको छ।

प्रधानमन्त्री स्कट मोरिसनले आगामी आठ साताभित्र अष्ट्रेलिया प्रवेश गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीलाई उनीहरुले तिरेको भिसा वापतको शुल्क फिर्ता गर्ने घोषणा गरेका हुन्।

विद्यार्थीले भिसा शुल्क वापत करिब ६ सय डलर तिर्ने गरेका छन्।

यस्तै वर्किंङ होलिडे भिसा अन्तर्गत आउनेलाई आगामी तीन महिनाभित्र अष्ट्रेलिया आएमा उनीहरूको पनि भिसा शुल्क फिर्ता गरिनेछ।

यस नयाँ घोषणामार्फत करिब ५५ मिलियन डलर खर्च हुने सरकारले अनुमान गरेको छ। यो कार्यक्रम अष्ट्रेलियाभन्दा बाहिर रहेका १ लाख ५० हजार विद्यार्थी र २३ हजार वर्कीङ होलिडे भिसामा आउनेलाई लक्षित गरिएको छ ।

प्रधानमन्त्री मोरिसनले यो रकम उनीहरुलाई अष्ट्रेलियामा आउँदा उपहार स्वरुप दिइएको बताए।

उनले अष्ट्रेलिया आएपछि ती विद्यार्थीले यहाँ कामदार अभाव भएका क्षेत्रमा योगदान दिने अपेक्षासमेत गरेका छन्।

प्रधानमन्त्री मोरिसनले भिसा लिएर बसेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई जतिसक्दो चाडो अष्ट्रेलिया आउनसमेत आग्रह गरेका छन्।

‘हामी चाहन्छौं कि तपाईँ अष्ट्रेलियामा आउनुहोस् र यहाँ अष्ट्रेलियामा छुट्टीको आनन्द लिनुहोस्। देशभरि घुम्नुहोस् र एकै समयमा, हाम्रो कामदार कमि भएको क्षेत्रमा सहभागी हुनुहोस्,’ प्रधानमन्त्री मोरिसनले भने।

एक्सपर्ट एजुकेशनका कार्यकारी प्रमुख तथा अध्यागमन विज्ञ बद्री अर्यालले सरकारको पछिल्लो नीतिले विद्यार्थी भिसामा आउनेलाई थप प्रोत्साहन गरेको बताए।

नयाँ भिसा पाएका नेपाली विद्यार्थीले पनि यो समयमा अष्ट्रेलिया आए भिसा शुल्क फिर्ता पाउने मौका पाउने बताए।

यो राज्यको सहुलीयतपूर्ण शैक्षिक नीति भएको अर्यालले बताए।

अष्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीको लागि आकर्षक केन्द्र हो र सरकारले यसलाई प्रवर्धन तथा प्रोत्साहन गरेको शैक्षिक परामर्श राईट एन्ड एसोसीयट्सका निर्देशक परशुराम अधिकारीले बताए।

यसअघिनै सरकारले कोभिडका कारण लामो समयदेखि सिमा बन्द हुँदा भिसा अवधि सकिएर अष्ट्रेलियामै फसेका वा बाहिर मुलुकमा रहेका ४८५ (टेम्पोरेरी ग्राजुयट) भिसावाहकलाई सरकारले पुनः भिसा आवेदन गर्न पाउने व्यवस्था मिलाएको छ।

अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा विदेशमा फसेका ४८५ अस्थायी भिसा वाहक (टीआर)को अधिकार कतौटी भएको महशुस गर्दै सरकारले यो कदम चालेको थियो।

४८५ अर्थात टेम्पोरेरी ग्राजुयट भिसा भर्खरै स्नातक सकाएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई अस्ट्रेलियामा काम जारी राख्न प्रदान गरिने भिसा हो। जसबाट उनीहरूलाई पढाइपछि अर्थोपार्जन र विषयगत दक्षतामा काम गर्ने अवसर पाउँछन्।

लामो समय अन्तर्राष्ट्रिय सिमा बन्द हुँदा विभिन्न मुलुकमा फसेका भिसाधारीले आफूले पाएको कामको अधिकार गुमाउने भएकोले सरकारले उनीहरूका लागि मौका दिएको हो।

अन्तर्राष्ट्रिय विद्यार्थीका लागि टेम्पोररी ग्राजुएट भिसा सम्बन्धी केही प्रमुख परिवर्तनमा मास्टर्स कोर्स वर्कको टेम्पररी ग्राजुयट भिसा अन्तर्गत अस्ट्रेलियामा बस्न र काम गर्न पाउने समयलाई बढाएर दुईबाट तीन वर्ष पुर्‍याइएको छ।

अध्यागमन विभागको पछिल्लो तथ्यांक अनुसार करिब ६० हजार नेपाली विद्यार्थी अस्ट्रेलियामा उच्च शिक्षा अध्यनरत छन्।

तपाईको प्रतिक्रिया