कोरोनाभाइरस संक्रमणको महामारीले दुई वर्ष पूरा गरी सक्दा ३५ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । सन् २०१९को अन्त्यतिरबाट कोरोनाभाइरस संक्रमण सुरु भएको थियो । २४ जनवरी २०२२को बिहान ४ बजे वल्डोमिटरले अपडेट गरेको विवरणअनुसार विश्वभर हालसम्म ३५ करोड २१ लाख २६ हजार ९०७ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् । कोरोनाबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा सात करोड १९ लाख २५ हजार ९३१ जना संक्रमित भएका छन् ।
कोरोना संक्रमणबाट हालसम्म ५६ लाख १४ हजार ७८८ जनाको मृत्यु भएको छ । वल्डोमिटरका अनुसार सबैभन्दा बढी अमेरिकामा आठ लाख ८९ हजार १९७ जनाले ज्यान गुमाएका छन् । त्यसपछि क्रमश ब्राजिलमा ६ लाख २३ हजार १४५ जना, भारतमा चार लाख ८९ हजार ८९६ जना, रुसमा तीन लाख २६ हजार ११२ जना, मेक्सिकोमा तीन लाख तीन हजार १८३ जना र पेरु दुई लाख चार हजार ३२३ जनाको मृत्यु भएको छ ।
यीबाहेक एक लाखभन्दा बढी नागरिक गुमाउने फ्रान्स, बेलायत, इटाली, जर्मनी, अर्जेन्टिना, इरान, कोलम्बिया, पोल्याण्ड, इन्डोनेसियासहितका देशहरू छन् । साथै संक्रमितको संख्या ३५ करोडभन्दा बढी हुँदा र ५६ लाखभन्दा बढी मानिसले ज्यान गुमाउँदा २७ करोडभन्दा बढी व्यक्तिले कोरोनालाई जितेका छन् । वल्डोमिटरका अनुसार २७ करोड ९८ लाख ५२ हजार २३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।