तेह्रथुम — सदरमुकाम म्याङलुङ बजारमा मंगलबार बिहान आगलागी हुँदा एक घरमा आगलागी भएको छ । स्थानीय शिवकुमार लिम्बुको घरमा बिहान ६ बजे आगलागी भएको हो ।

आगलागीमा परी सोही घरमा डेरा लिएर बस्दै आएका म्याङलुङ नगरपालिका–१ का अर्जुन अधिकारीको भाँडाकुँडा, लत्ताकपडा, अन्नपात, गरगहना लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय तेह्रथुमले जनाएको छ । घर पूर्णरुपमा जलेर नष्ट भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्याङलुङ नगरपालिकाको दमकल र स्थानीयको संयुक्त प्रयासमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले जानकारी दिए ।

आगो नियन्त्रणको क्रममासँगै जोडिएको अर्को घरमासमेत क्षति पुगेको छ । आगलागीले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । डेरा लिएर बस्दै आएका अधिकारीको आफन्तको श्राद्ध रहेको र सेलरोटी पकाउने क्रममा ग्याँस लिक भएर आगलागी भएको स्थानीयले जनाएका छन् । अहिले क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरी निरीक्षक कोमल ठाकुरले वताए ।

तपाईको प्रतिक्रिया