एक अमेरिकी महिला एचआईभी एड्स रोगबाट पूर्ण रुपमा मुक्त हुने विश्वकै पहिलो महिला भएकी छन् । रक्त क्यान्सरको उपचारका क्रममा ती महिलालाई एड्स निम्त्याउने भाइरसविरुद्ध प्राकृतिक प्रतिरोधी क्षमता भएका व्यक्तिबाट स्टेम कोष प्रत्यारोपण गरिएपछि उनी निको भएको बताइएको छ । तर उनकाे नाम र वास्तविक परिचय खुलाइएकाे छैन ।

बिबिसीका अनुसार उपचारपछि ती महिला विगत १४ महिनायता भाइरसमुक्त भएकी छन् । यसरी एचआइभीबाट मुक्त हुने उनी समग्रमा विश्वकै तेस्रो व्यक्ति हुन् ।

तर विज्ञहरूले भने नाइटोबाट रगत प्रत्यारोपण गरिने यो विधि एचआईभी भएका अन्य मानिसहरूमा प्रयोगमा ल्याउन धेरै जोखिमपूर्ण रहेको बताएका छन् । बिरामीको उपचार गरिएको यो विषय मङ्गलवार डेन्भरस्थित एक चिकित्सा सम्मेलनमा प्रस्तुत गरिएको थियो । एचआईभीको उपचारमा यो विधि प्रयोग गरिएको पहिलो पटक सार्वजनिक भएको हो ।

क्यान्सरको उपचारका लागि नाइटोबाट रगत प्रत्यारोपण गरिएको ती महिलालाई एचआईभीको उपचारका लागि एन्टीरेट्रोभाइरल थेरापी आवश्यक परेको थिएन । अमेरिकामा एचआईभी सङ्क्रमित मानिसहरूमा क्यान्सर र अन्य गम्भीर रोगको उपचारका लागि उस्तै प्रकारको रगत प्रत्यारोपण विधि प्रयोग गरेर भएका उपचारबारे गरिएको व्यापक अध्ययनमध्ये यो उपचार पनि एक थियो ।

एचआईभीको यसअघिका दुई वटा उपचारमा बोनम्यारो प्रत्यारोपणको प्रक्रियाबाट वयस्क स्टेम कोषहरू बिरामीको शरीरमा राखिएको थियो । –  बिबिसी

तपाईको प्रतिक्रिया