सप्तकोशी डेभलपमेन्ट बैंकमा भएको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना प्रकरणमा बैंकका तत्कालीन सिइओसहितका १२ जनाविरूद्ध मुद्दा दायर हुने भएको छ।

मोरङ प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ। सरकारी वकिलको कार्यालयले तत्कालीन सिइओ नविन सुवेदीसहितका १२ जनाविरूद्ध मुद्दाको तयारी गरेको हो।

अभियोजन शुक्रबारसम्म पूरा गर्ने र आइतबार उच्च अदालत विराटनगरमा बैकिङ कसुर मुद्दा दायर गरिने सरकारी वकिल कार्यालय विराटनगर स्रोतले जनाएको छ।

तत्कालीन सिइओसहितका कर्मचारीकै मिलेमतोमा भएको सप्तकोशी डेभलपमेन्ट बैंक हिनामिना प्रकरणमा सिइओ एक्लैले १४ करोड भन्दाबढी रकम अपचलन गरेको भेटिएको छ।

विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालयबाट १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना भएको थियो। त्यसमा सबैभन्दा बढी रकम तत्कालीन सिइओ नवीन सुवेदीले लिएको खुलेको छ।

सुवेदीले दिदी नाता पर्ने झापा दमक नगरपालिका १३ घर भएकी ४३ वर्षीया बविता बस्नेतको खाताबाट फरक-फरक मितिमा १४ करोड ६ लाख ९३ हजार ७ सय ३५ रुपैयाँ झिकेर हिनामिना गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

मोरङ प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार उनले सन् २०१६ यताको ६ वर्षमा १४ करोडभन्दा बढी रकम आफैले चलाएको देखिन्छ।

सन् २०१६ अगस्ट ७ तारिखदेखि बबिता बस्नेतको नाममा रहेको ९९९०००१५००१५ नं. को रेमिट खाताबाट १४ करोड ५ लाख २१ हजार ३ सय ६५ रुपैयाँ र खर्च खाताबाट सन २०१६ अप्रिल २२ तारिखदेखि १ लाख ७२ हजार ३ सय ७० रुपैयाँ गरी ६ वर्षमा १४ करोड ६ लाख ९३ हजार ७ सय ३५ रुपैयाँ अपचलन गरेको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

घोटाला भएको जम्मा रकममध्ये रेमिट शीर्षकबाट १५ करोड ६९ लाख ७७ हजार ९ सय ७७ रुपैयाँ र खर्च शीर्षकबाट ५ लाख ६२ हजार ५ सय ९८ रुपैयाँ अपचलन भएको देखिन्छ। २०७२ सालदेखि २०७८ मंसिरसम्मको अवधिमा यो रकम अपचलन गरेको देखिएको छ।

अपलचन भएको रकम बैंकका कर्मचारीसहितका ६ जनाको खाताबाट चलाएको देखिएको छ। तत्कालीन सिइओ नविन सुवेदीको नाता पर्ने बबिता बस्नेत, बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई, अपरेसन प्रमुख अमित थापा मगर, कमल दाहाल, मनोज भट्टराई र चुडाबहादुर निरौलाको नामको खाताबाट रकम अपचलन गरेको देखिएको छ। सिइओ सुवेदीको नातामा भान्जा पर्ने हिमाल भट्टराईले विभिन्न मितिमा चार पटक रकम झिकेको देखिएको छ।

भट्टराईले ९९९००००६४४०११ नं. खाताबाट सन् २०२१ अक्टोबर २६ तारिखमा ७७ लाख ९७ हजार ८ सय ८० रुपैयाँ, २०१८ अप्रिल १ मा १९ लाख ३१ हजार १ सय ६९ र २०१६ मार्च २७ गते ४२ हजार ५ सय रुपैयाँ झिकेको देखिएको छ।

कमल दाहाल र मनोज भट्टराईको नामको खाताबाट विभिन्न मितिमा २÷२ पटक रकम झिकेको देखिएको छ। कमल दाहालको रेमिट खाताबाट २०१६ अगस्ट १ मा २ लाख ६० हजार, २०१६ मार्च ३० मा खर्च खाताबाट १ लाख १३ हजार ६८० रुपैयाँ झिकेका छन्।

मनोज भट्टराईको खाताबाट २०१६ अक्टोबर ६ तारिखमा रेमिट खाताबाट ३३ लाख ८१ हजार ६३ र खर्च खाताबाट सोही मितिमा १ लाख ९३ हजार ४८ रुपैयाँ झिकेको देखिएको छ। बैंकका अपरेसन प्रमुख अमित थापा मगरको रेमिट खाताबाट २०१६ नोभेम्बर ३ तारिखमा ३ लाख ८६ हजार ५ सय रुपैयाँ हिनामिना भएको छ। यस्तै चुडाबहादुर निरौलाको खर्च खाताबाट २०१६ मार्च २१ तारिखमा ४१ हजार रुपैयाँ झिकेको देखिएको छ।

बैंकको रकम घोटला गरेको प्रहरीमा उजुरी दिएपछि १९ मंसिरमा बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई पक्राउ परेका थिए। भट्टराई पक्राउ परेपछि १४ पुसमा सिइओ सुवेदीसहित बैंकका लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी, अपरेसन प्रमुख अमित थापा मगर पक्राउ परेका थिए। एक हप्ता अगाडि रामेछाप घर भई विराटनगरमा बस्दै आएका ३० वर्षीय होमप्रसाद पौडेल पनि पक्राउ परेका छन्।

सरकारी वकिलको कार्यालयले ७ जनालाई फरार प्रतिवादी बनाएर अभियोग दर्ताको तयारी गरेको छ। पक्राउ परेका पाँच र फरार बनाएर ७ जना गरी १२ जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ताको तयारी गरिएको हो।

फरार प्रतिवादी बनाएर बैंकका कार्यालय सहयोगी चुडाबहादुर निरौला, बैंकका कार्यालय सहयाक पदबाट राजिनामा दिएका निश्चल सुवेदी, बबिता बस्नेत, कमल दाहाल, मनोज भट्टराईलाई लगायतलाई मुद्दा दर्ताको तयारी गरेको अदालत स्रोतले जानकारी दिएको छ।

धनकुटा प्रधान कार्यालय भएको सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ। त्यही कर्पोरेट कार्यालयबाट रेमिट्यान्सको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना भएको खुलेको थियो। प्रदेश १ को ७ जिल्लामा ३६ वटा शाखा कार्यालय रहेको सप्तकोशी बैंकको ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप छ। साविकको काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरमा गएर हाल सप्तकोशी डेभलपमेन्ट बैंक लि. नामबाट वित्तीय कारोबार गरिरहेको यो बैंक नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘ख’ वर्गको वित्तीय संस्था हो।

तपाईको प्रतिक्रिया