नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय उपाध्यक्षमा तोयानाथ तिम्सिनाले उम्मेदवारी दिने तयारी गरेका छन् । विधानमा केन्द्रीय उपाध्यक्ष स्वतः प्रदेश अध्यक्ष रहने प्रावधान छ । प्रदेश १ को अध्यक्ष भएर काम गर्नका लागि उनले आठौँ महाधिवेशनमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

 

७७ जिल्ला र ४८ वटा विभागको अधिवेशन सम्पन्न गरेको युनियनले फागुन पहिलो साता आठौँ महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ । माघ ८ गतेदेखि १० गतेसम्म महाधिवेशन गर्ने तयारी गरे पनि कोरोनाका कारण रोकिएको थियो । हाल फाल्गुन २१ , २२ , २३ गते काठमाण्डौँमा हुने भएको महाधिवेशनको लागी तिम्सिनाले तयारी तिव्र पारेका छन् ।

महाधिवेशनको तयारी सुरु भएपछि कर्मचारीका नेताहरूले चुनावी अभियान सुरु गरेका छन् । युनियनका केन्द्रीय सदस्य तिम्सिनाले पनि केन्द्रीय उपाध्यक्ष (प्रदेश)मा उठ्नका लागि अभियान सुरु गरेका हुन् ।

 

विद्यार्थी कालमा नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका तिम्सिना युनियनको खुला तर्फबाट केन्द्रीय सदस्य भई काम गरिसकेका छन् । कर्मचारीमाझ लोकप्रिय रहेका तिम्सिना प्रशिक्षक पनि हुन् ।

उनी शसक्त रूपमा काम गर्ने इच्छा भएकाले केन्द्रीय उपाध्यक्ष(प्रदेश)मा उम्मेदवारी दिने तयारीमा रहेको बताउँछन् । ‘प्रदेशमा बसेर काम गरिरहेको छु, अझ शसक्त रूपमा काम गर्ने उत्साह जागेकाले उम्मेदवारी दिने निष्कर्षमा पुगेको छु,’ उनले भने, ‘देशभरका सहकर्मीबाट सुझाव ग्रहण गर्दैछु ।’

महाधिवेशन प्रतिनिधिसँग समन्वय गरेर उम्मेदवारी घोषणा गर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया