पछिल्लो एक सातामा खाने तेलको मूल्य ह्वात्तै बढेको छ । विशेष गरेर सन्फ्लावर र सोयाबिन तेलको मूल्य ह्वातै बढेको छ । गत साताबाट सुरु भएको रसिया र युक्रेनको युद्धसँगै नेपालमा अभाव हुने हल्ला चलाएरै मूल्य बढाइएको उपभोक्ता बताउँछन् ।

नेपालले युक्रेन, रसिया र अर्जेन्टिनाबाट कच्चा तेल आयात गरी रिफाइन गरेर नेपाली बजार र भारतमा निर्यात गर्दै आएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा युक्रेनबाट ९ अर्ब ५१ करोड ६३ लाख ६१ हजारको कच्चा तेल आयात भएको छ ।

यस्तै रसियाबाट २ अर्ब ५८ करोड ७५ लाख ३६ हजार र अर्जेन्टिनाबाट २६ करोड ५१ लाख ८० हजार रुपैयाँ बराबरको आयात भएको छ ।

रसिया युक्रेन युद्धसँगै अब बजारमा खाने तेलको मूल्य बढ्ने भन्ने र अभाव हुने भन्दै व्यापारीहरुले बजारमा कृत्रिम अभाव सिर्जना गराएको उपभोक्ताको आरोप छ ।

सन्फ्लावरसँगै सोयाबिन तेलको समेत मूल्य बढेको व्यापारीहरु बताउँछन् ।

नेपालमा  सन्फ्लावर तेल युद्ध चलिरहेको  रसिया र  युक्रेनबाटै आयात हुने भए पनि सोयाविन तेल भने दक्षिण अमेरिकी राष्ट्रहरुबाट बढी आयात हुने गरेको छ ।

भन्सार विभागको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्षको ७ महिनामा ३९ अर्ब ६६ करोड ५९ लाख ५६ हजारको तेल आयात भएको छ ।  जसमध्ये सबैभन्दा धेरै अर्जेन्टिनाबाट २७ अर्ब ४४ करोड ८० लाख ८ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

त्यस्तै ब्राजिलबाट ६ अर्बभन्दा बढी र ५ अर्ब भन्दा बढीको पाराग्वेबाट आयात भएको छ । यस्तै युक्रनेबाट ७९ करोडको  र इजिप्ट तथा उरुग्वेबाट पनि समान्य आयात भएको छ ।

यसले सन्फ्लावर तेलको आयात प्रभावित हुने अवस्था देखिए पनि सोयाविन तेलको आयातमा भने खासै प्रभाव पर्ने अवस्था देखिँदैन ।

तपाईको प्रतिक्रिया