करिम बेन्जेमाले दोस्रो हाफमा गरेको उत्कृष्ट ह्याट्रिकमा रियल म्याड्रिडले च्याम्पियन्स लिगमा उत्कृष्ट पुनरागमन गरेको छ । रियलले बुधबार पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराएर युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठको यात्रा तय गरेको छ ।
बर्नाबाउमा भएको अन्तिम १६ को दोस्रो लेगमा रियल ३–१ ले विजयी रह्यो र समग्रमा ३–२ को अग्रता लिन सफल रह्यो ।

पीएसजीले पहिलो हाफमा केयलिन एमबापेको गोलले अग्रता लिएको थियो र यस्तोमा समग्रमा दुई गोलले अगाडि रहेको थियो । यो स्थितिमा पीएसजी क्वाटरफाइनल पुग्ने निश्चित देखिएको थियो । तर बेन्जेमाले पीएसजीलाई स्तब्ध पार्ने क्रममा १७ मिनेटमा सनसनीपूर्ण ह्याट्रिक गरे । उनले ६१, ७६ र ७८ औं मिनेटमा गोल गरे ।

बुधबारकै अर्को खेलमा म्यानचेस्टर सिटीले घरमा स्पोर्टिङ लिस्वनलाई अन्तिम १६ को दोस्रो लेगमा गोलरहित बराबरीमा रोक्यो र समग्रमा ५–० ले अगाडि रहेर क्वाटरफाइनल पुग्न सफल भयो । सिटी पहिलो लेगमा पाँच गोलले विजयी रहेको थियो र यो नै उसका लागि अर्को चरण पुग्न पर्याप्त रह्यो ।

तपाईको प्रतिक्रिया