इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको उपाधि पूर्वाञ्चल क्रिकेट क्लब विराटनगरले जितेको छ ।

मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटमिलको खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा भारतको समशेर क्रिकेट क्बल कानपुरलाई ६ रनले हराउँदै पूर्वाञ्चलले उपाधि जितेको हो ।

जितसँगै पूर्वाञ्चलले नगद १ लाख ११ हजार रुपैयाँको साथै ट्रफी हात पा¥यो । उपबिजेता भएको कानपुरले नगद ५१ हजार रूपैयाँमा चित्त बुझायो । टस जितेर ब्याटिङ गरेको पूर्वाञ्चालले निर्धारित २० ओभरमा २ सय ४ रनको योगफल खडा गर्दै अलआउट भएको थियो ।

अलराउण्ड प्रदर्शन गरेका पूर्वाञ्चलका मन्जित श्रेष्ठले २६ बलमा ४६ रन बनाए । उनको ब्याटबाट ३ छक्का र ६ चौका निस्कियो । पूर्वाञ्चलका रसित खानले २१ बलमा ४६ रन जोडे । श्रवण यादवलमा १६ बलमा ४० र मुकुन्द यादवले २२ बलमा २९ रन ल्याए ।

कानपुरका दिमाङसु र किसन लालले समान ३÷३ विकेट लिए । श्रेष्ठा मिश्राले २ विकेट लिए । जवाफमा २ सय ५ रनको विजय लक्ष्य पछ्याएको कानपुरले २० ओभरमा ९ विकेटको गुमाउँदै १९८ रनमा सिमित भयो । कानपुरका राहुल सिंहले २२ बलमा ३९ रन बनाए । रवि रोयले २२, हर्षिद सिंहले २७ र श्रेष्ठा मिश्राले ३० रन जोडे ।

पूर्वाञ्चलका जोसक खड्काले ३ विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका मन्जित श्रेष्ठले २ विकेट लिए । प्रतियोगिताको म्यान अफ द फाइनल र बेस्ट बलर पूर्वाञ्चलका जोसक खड्का घोषित भए । बेस्ट ब्याटमेन कानपुरका हर्षिद सिंह भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । म्यान अफ श्रीरिज पूर्वाञ्चलका मन्जित श्रेष्ठ घोषित भए । उनले नगद १५ हजार पाए । प्रतियोगिताको उदयमान खेलाडी आयोजक टिमका अजय कुर्मी र निखिल चौधरी घोषित भए ।

प्रतियोगितामा बिजेता हुने टिमहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का उद्योग श्रम तथा रोजगार मन्त्री प्रताव प्रकाश हाङ्गाम, विराटनगर १६ का वडाअध्यक्ष मनोज सुब्बा, आयोजक समितिको अध्यक्ष मुरली चौधरीलगायतले ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया