चिनियाँ विदेश मन्त्री वाङ यी शुक्रबार नेपाल आउने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा यीले द्वीपक्षीय औपचारिक वार्तासँगै महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने छन्।

चिनियाँ विदेश मन्त्री नेपाल आउनुभन्दा अघि भारतमा हुनेछन्। हिन्दुस्तान टाइम्सले उनी बिहीबार नयाँदिल्ली आइपुग्ने शुक्रबार त्यहीँबाट काठमाडौं आउने समाचार प्रकाशन गरेको छ।

परराष्ट्र मन्त्री नारायण खड्काले विदेशी मन्त्री वाङसँग गर्ने द्वीपक्षीय वार्ताका क्रममा नेपालले चिनियाँ पक्षसँग नाकामा भएको आवातजावतको समस्या, चीनमा एमबिबिएस पढेर इन्टर्न गर्न नपाएका विद्यार्थीको समस्यालगायत विषय उठाउने छ।

बिआरआई परियोजनालगायत अन्य विषयमा पनि कुराकानी हुनेछ।

काठमाडौंमा रहँदा चिनियाँ विदेश मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने छन्।

उनी आइतबार स्वदेश फर्कने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया