इरानमा हिजाबका कारण २२ वर्षीया महिला महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानमा हिजाबको विवाद चर्किएको छ । इरानमा हिजाबका लागि ल्याइएको कडा नियमको विरोधमा भएको प्रदर्शनका विरुद्ध सुरक्षा बलले हिंसात्मक कारबाही गरेको छ ।
इरानी सुरक्षा बलहरूको कारबाहीमा यस घटनामा कम्तिमा ३१ सर्वसाधारणको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । महसा अमिनीको हिरासतमा मृत्यु भएपछि यी विरोधहरू भड्किएका थिए। हिजाब नलगाएको भन्दै अमिनीलाई नैतिक प्रहरीले नियन्त्रणमा लिएको थियो, त्यसपछि उनको मृत्यु भएको थियो।
अमिनीको मृत्युपछि महिलाहरु आक्रोशित छन् । विरोध दर्ता गराउनका लागि पनि महिलाले हिजाब जलाउँदै छन् भने कतिपय महिलाले लामो कपाल पनि काटिरहेका छन् । केही रिपोर्टमा अमिनीलाई हिरासतमा लिएपछि उनी कोमामा गएको र त्यसपछि मृत्यु भएको बताइएको छ ।
सामाजिक सञ्जालमा शेयर गरिएको भिडियो अनुसार महसा अमिनीको मृत्युपछि धेरै महिलाले हिजाब फुकालेर विरोध गर्न थालेका छन् । महसा अमिनीको मृत्युले पूरै तेहरानलाई सडकमा आउन बाध्य बनाएको छ । देशको ‘ड्रेस कोड’ कानूनको विरुद्धमा ठूलो संख्यामा महिलाले विरोध प्रदर्शन गरिरहेका छन् ।
एम्नेस्टी इन्टरनेसनल र अन्य मानवअधिकार वादी समूहका अनुसार सुरक्षाकर्मीले भीडमाथि गोली चलाउनुका साथै अश्रुग्यास र पानीको फोहोराको प्रयोग गरेको छ । इरानी अधिकारीहरूले इन्टरनेट पहुँचमा प्रतिबन्ध लगाएको र ह्वाट्सएप र इन्स्टाग्रामजस्ता सन्देश आदानप्रदानका लागि प्रयोग हुने एप्सलाई ब्लक गरेपछि आन्दोलनकारी थप आक्रोशित बनेका छन् । न्युयोर्कदेखि इस्तानबुलसम्म आन्दोलनमा ऐक्यबद्धता प्रदर्शन भएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।
हिजाब नलगाएको भन्दै अमिनीलाई प्रहरीले शारीरिक यातना दिएको र टाउकोमा चोट लागेका कारण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक सञ्जालमा विभिन्न पोस्टमा दाबी गरिएको छ । तर, यो तथ्य पुष्टि भएको छैन। प्रहरीका अनुसार हिरासतमा राखेपछि अमिनी बिरामी परेकी थिइन् जसले गर्दा उनको मृत्यु भएको थियो ।एजेन्सी ।