मध्य प्रदेशको इन्दौरमा इनारमा खसेर हालसम्म ३५ जनाको मृत्यु भइसकेको छ ।

बिहीबार इनारबाट १४ जनाको शव निकालिएको थियो । बिहीबार राती र शुक्रवार बिहानसम्म २० थप मानिसको शव निकालिएको छ ।

उद्धार कार्य जारी छ । यसका लागि १४० उद्धारकर्मी जुटेका छन् । सेना पनि घटनास्थलमा छन् ।

बिहीबार रातीसम्म इनारबाट १८ जनाको उद्धारसमेत गरिएको छ । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । इनारलाई छोप्न बनाइएको स्ल्याब भत्किएपछि मानिस त्यसभित्र खसेका हुन् ।

राम नवमीको अवसरमा इन्दौरको बेलेश्वर महादेव मन्दिरमा एउटा इनारको छत भत्किएको थियो । राम नवमीका कारण मन्दिरमा अत्यधिक भीड थियो ।

जुन इनारलाई सिमेन्टको स्ल्याबले ढाकिएको थियो त्यहाँ हवन कुण्ड बनाइएको थियो । दुर्घटनाका बेला यसै स्ल्याबमा बनेको हवन कुण्ड नजिकै मानिसहरू बसेका थिए ।

मानिसको चापका कारण स्ल्याब भत्किएको बताइएको छ ।

तपाईको प्रतिक्रिया