भारतको पूर्वी सिक्किमको छोम्गोमा हिम पहिरोमा परी मृत्यु हुने सात जनामध्ये तीन जना नेपाली नागरिक रहेका छन्। सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार मङ्गलबार बिहान ११ बजेर १० मिनेटमा १७ औं माइल नजिकैको गान्तोक नातुला जेएनएम रोडमा हिम पहिरो गएको जनाइएको छ।

सो पहिरोमा परी चितवनका शिवप्रसाद लामिछाने र २२ वर्षीया आशिका ढकाल तथा रुपन्देहीका २९ वर्षीया मुना शाह श्रेष्ठको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै हिम पहिरोमा परी पश्चिम बङ्गालका २८ वर्षीय सौरभ राय चौधरी, ३८ वर्षीय प्रितम मात्ये, उत्तर प्रदेशका ३२ वर्षीय बाल सिंह र ६ वर्षीया बालिका रेविया सिंहको मृत्यु भएको सिक्किमका एसपी तेनजिंग लोडेन लेप्चाले जानकारी दिए। मृतक सातै जना पर्यटक थिए। उनीहरू सिक्किम घुम्न आएको एसपी लेप्चाले बताए।

त्यसैगरी हिम पहिरोमा परी तीन नेपाली नागरिक घाइते समेत भएका छन्। घाइते हुनेहरूमा ४० वर्षीया गीता सापकोटा, ३८ वर्षीया ज्योति गुरुङ र ४३ वर्षीय रमेश खनाल रहेका छन्। उनीहरूको ठेगाना खुलाइएको छैन। उनीहरूसहित घाइते १३ जनाको गान्तोकस्थित एसटीएनएम हस्पिटलमा उपचार भइरहेको छ।

यता मृत्यु हुने तीनै जना नेपालीको शव स्वदेश ल्याउने तयारी भइरहेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले गान्तोकको एसटीएनएम अस्पतालमा उपचाररत हिम पहिरोका घाइतेहरूको स्वास्थ्य अवस्था बुझेका थिए।

त्सोमगो ताल नजिकै हिम पहिरो खस्दा नाटुला जाने क्रममा २० देखि ३० पर्यटकसहित आधा दर्जन सवारीसाधन हिउँमुनि पुरिएको थियो। उनीहरूको त्रिशक्ति कोर्प्स, भारतीय सेना र बीआरओ परियोजना स्वस्तिकको टोलीले उद्धार गरेका थिए।  हिम पहिरोले सडक अवरुद्ध हुँदा अलपत्र परेका ३५० पर्यटक र करिब एक सय  सवारीसाधन फसेका थिए। उद्धार टोली मङ्गलवार साँझ बजेसम्म उद्धार कार्यमा खटेका थिए। मौसम खराबीका कारण उद्धारमा समस्या भएकोले बुधवार बिहान ८ बजेदेखि पुनः उद्धार टोली खटिएको एसपी लेप्चाको भनाई छ।

‘सामान्यतया जनवरी, फेब्रअरीमा हिम पहिरो जान्छ, एसपी लेप्चाले भने, ‘यसबर्ष पानी अत्यधिक परेकोले मार्च र अप्रिलमा पनि सिक्किमका विभिन्न ठाउँमा हिम पहिरो खसेको र यस्तो दुःखद घटना घट्यो।’ हिम पहिरोमा अझै पनि कोही फस्न सक्छन्, त्यसैले सिक्किम घुम्न आएका पर्यटकहरूको पहिचानका लागि सिक्किम सरकारले हटलाइन नम्बर जारी गरिसकेको उनले बताए।

तपाईको प्रतिक्रिया