भारतको पूर्वी राज्य बिहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

त्यसैगरी १४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार भइरहेकोले संख्या बढ्न सक्ने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन्।

बिहारको राजधानी पटनाबाट एक सय ५१ किलोमिटर उत्तरमा रहेको पूर्वी चम्पारण (मोतिहारी) जिल्लामा शनिबार सो घटना घटेको हो।

मोतिहारीका वरिष्ठ प्रहरी अधिकारी कन्तेशकुमार मिश्रले दिएको जानकारीअनुसार पाँच स्टेशन हाउस अफिसर र विभिन्न प्रहरी थानाका नौ गाउँ हेरालु र वार्ड कर्मचारीहरू निलम्बन गरिएको छ। प्रहरीले छापा मार्ने क्रममा हालसम्म एक सय आठ जनालाई पक्राउ गरेको छ भने छ हजार लिटरभन्दा बढी मदिरा बरामद गरेको छ।

यसैबीच विहारका मुख्यमन्त्री नितिश कुमारले सोमबार पीडित परिवारलाई चार हजार आठ ८१ अमेरिकी डलर क्षतिपूर्ति दिने घोषणा गरेका छन्। विषाक्त मदिराको सेवनबाट भारतमा प्रायः यस्ता घटना हुने गरेको पाइन्छ।

तपाईको प्रतिक्रिया