सिंगापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टंगाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ ।

सुपियाहका परिवार, मानवअधिकारवादी कार्यकर्ता र राष्ट्रसंघीय मानवाधिकार उच्चायुक्तको कार्यालयबाट भएको क्षमायाचनाको अनुरोधलाई वेवास्ता गर्दै आज बिहान उनलाई झुन्ड्याइएको हो ।

सिंगापुर कारागार सेवाका एक जना प्रवक्ताले मृत्युदण्ड दिइएको पुष्टि गरेका छन् ।  सन् २०१७ मा एक किलो गाँजा बोकेका उनीमाथि तस्करीको षड्यन्त्र गरेको अभियोग लगाइएको थियो ।

मानवअधिकारवादीहरूले पर्याप्त प्रमाणबिना नै उनलाई दोषी ठहर्‍याइएको तथा अभियोजनको क्रममा सीमित कानुनी पहुँच प्रदान गरिएको दाबी गरेका छन् । सिंगापुरका अधिकारीहरूले भने उक्त दाबीलाई निराधार भन्दै मुद्दाको निष्पक्ष सुनुवाइ भएको बताएका छन् ।

लागुपदार्थविरुद्ध विश्वको सबैभन्दा कठोर कानुन भएको देश सिंगापुरमा गत वर्ष ११ जनालाई मृत्युदण्ड दिइएको थियो । ती मध्ये तीन चम्चा हेरोइन तस्करी गरेको आरोपमा दोषी मानिएका बौद्धिकरूपमा अक्षम एक जनालाई पनि फाँसी दिइएको थियो ।

विश्वका विकसित देशमा गाँजामाथिको प्रतिबन्ध खुलिरहेका बेला सिंगापुर भने लचिलो भएको छैन । छिमेकी मलेसियाले मृत्युदण्डमा संशोधन गरेको छ भने थाइल्याण्डमा गाँजाको कारोबारलाई वैधानिक मानिन्छ । अमेरिकाका केही राज्यमा पनि गाँजालाई औषधीय प्रयोजनका निम्ति खुला गरिएको छ । रासस/एएफपी

तपाईको प्रतिक्रिया