एजेन्सी । पानीमा खसेको मोबाइल फोन निकाल्न सम्पूर्ण ताल (जलाशय)को पानी नै सुकाइदिएका एक कर्मचारी निलम्बनमा परेका छन् । कुरा भारतको हो । राजेश विश्वास नामका ती सरकारी अधिकारी निलम्बनमा परेका हुन्।

उनले सेल्फी लिइरहेको बेला फोन खसेर जलाशयमा परेको थियो । बाँध बाँधेर बनाइएको उक्त जलाशयबाट दशौँ लाख लिटर पानी बाहिर पठाउन आदेश दिएर उनले ताल नै सकाइदिएका हुन् । यसरी एउटा फोन निकाल्नका लागि जलाशयको पानी बाहिर पठाउन तीन दिन लागेको थियो ।

तर यत्रो तामझाम गरेर ताल सुकाएर मोबाइल निकाले पनि त्यो फोन काम नलाग्ने अवस्थामा पुगिसकेको थियो । खाद्य निरीक्षक पदमा कार्यरत विश्वासले त्यसमा संवेदनशील सरकारी तथ्याङ्क रहेको र त्यसलाई जोगाउनुपर्ने भएका कारण आफूले त्यस्तो गरेको बताएका छन् । तर उनीमाथि पद र अख्तियारको दुरुपयोग गरेको आरोप लगाएर पदबाट निलम्बन गरिएको हो ।

अघिल्लो हप्ता मध्य भारतको छत्तीसगढ राज्यमा अवस्थित खेरकट्टा बाँधमा उनको मोबाइल पानीमा खसेको थियो । उक्त मोबाइल करिब १ लाख ६० हजार रुपियाँ पर्ने सामसुङ कम्पनीको थियो । सुरुमा उनले पानीबाट फोन निकाल्न गोताखोरहरुलाई पठाएका थिए । तर गोताखोरहरुले उक्त फोन फेला पार्न सकेनन् ।

त्यसपछि उनले तालको पानी बाहिर पठाउन आफैले शुल्क तिरेर एउटा डिजेल पम्प झिकाएको बताएका छन् । एउटा भिडियो सन्देशमा भनिए अनुसार विश्वासले एक जना अधिकारीले ‘नजिकैको नहरमा जलाशयबाट केही पानी पठाउने गरी’ मौखिक रूपमा अनुमति दिएको बताएका छन् । ‘त्यसले किसानहरूलाई थप पानी उपलब्ध गराएर फाइदा पुर्‍याउने’ पनि उनको जिकिर थियो ।

उक्त पम्पले तीन लगाएर पानी बाहिर फालेको थियो । त्यसरी जलाशयबाट निकालिएको झन्डै २० लाख लिटर पानीबाट ६०० हेक्टर खेतमा सिँचाइ गर्न मिल्ने बताइन्छ । यसरी जलाशयको पानी लगातार बाहिर फालिएको भन्दै उजुरी परेको थियो । उजुरीपछि जलस्रोत विभागका अर्का अधिकारी आएपछि उक्त काम रोक्न लगाइएको बिबिसीले जनाएको छ । ती अर्का अधिकारीले उनलाई निलम्बन गरी घटनाको छानबिन गर्न आदेश थिएका थिए ।

विश्वासमाथि जलाशयको पानी खेर फालेको आरोप समेत लगाइएको छ भने राजनीतिक रुपमा समेत यस कार्यको विरोध भएको छ ।

तपाईको प्रतिक्रिया