सन् २०१६ मा बगदादमा भएको बम विस्फोटको घटनामा संलग्न रहेका भनिएका ३ जना अभियुक्तलाई इराकले मृत्युदण्ड दिएको छ।

३०० जनाभन्दा बढी मारिएको विस्फोटमा संलग्नहरुलाई घटनाको ८ वर्षपछि फाँसी दिइएको हो। सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इराकमा यो सबैभन्दा घातक बम विस्फोट थियो। उक्त विस्फोटको जिम्मा इस्लामिक स्टेट समूह (आइएस)ले लिएको थियो।

प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीको कार्यालयले मृत्युदण्ड दिइएका व्यक्तिहरूको नाम र उनीहरूलाई कहिले सजाय सुनाइएको हो भन्नेबारे केही बताएको छैन। उनीहरुलाई आइतबार र सोमबार मृत्युदण्ड दिइएको बताइएको छ।

सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले मृत्युदण्ड दिइनेमध्ये बम आक्रमणमा संलग्न रहेका भनिएका आइएसका ‘मास्टरमाइन्ड’ गजवान अल-जवाबी पनि छन्। उनलाई सन् २०२१ मा पक्राउ गरी इराक फर्काइएको थियो।

प्रधानमन्त्रीले पीडित परिवारलाई ‘आतंकवादी बम विस्फोटमा संलग्न भएकोमा दोषी पाइएका तीन मुख्य अपराधीहरू’विरुद्ध ‘मृत्युदण्डको उचित सजाय’ भएको जानकारी दिएका उनको कार्यालयले जनाएको छ।

सन् २०१६ को ३ जुलाईमा विस्फोटक पदार्थले भरिएको एउटा गाडीलाई इराकी राजधानीको मुख्य शिया मुस्लिम क्षेत्र काराडामा रहेको व्यस्त बजार छेउमा विस्फोट गराइएको थियो।

इस्लाम धर्मको पवित्र महिना रमजानको लागि दैनिक उपवास तोडेर मानिसहरूले रात्रि रमाइलो गरिरहेका बेला बम आक्रमण भएको थियो। बम विस्फोटपछि भवनमा लागेको आगोबाट धेरै पीडितको मृत्यु भएको थियो।

विस्फोटपछि गृहमन्त्री मोहम्मद गब्बानले राजीनामा दिएका थिए। तत्कालीन प्रधानमन्त्री मुस्तफा अल-काधिमीले जावबीलाई उक्त आक्रमणको ‘प्राथमिक अपराधी’ भएको बताउँदै त्यसमा ‘अरू धेरै’ संलग्न भएको बताएका थिए।

तपाईको प्रतिक्रिया