दोहा / म्यानपावर व्यवसायीको चरम लापरबाहीले कुवेतमा २८ जना नेपाली अलपत्र परेका छन् । काठमाडौंको सिनामंगलमा रहेको सारोन म्यानपावर सिर्भिसेसबाट कुवेत पुगेका २८ नेपालीहरु सडकमा रात बिताईरहेका छन् ।

सारोन म्यानपावर मार्फत गत अप्रिलमा कुवेतको एक कम्पनीमा काम गर्न पुगेका उनीहरु अहिले अलपत्र परेका छन् । म्यानपावरले पिडितहरुबाट प्रतिव्यक्ति जनही १ लाख ८० हजार रुपैयाँ लिएको बताएका छन् । कुवेत पुगेको ४ महिनासम्म पनि काम, दाम र माम नपाए पछि उनीहरुले गुनासो गरेका छन् । माहबुल्लाहको ड्राइभर क्याम्पको हिर पट्टी उनीहरुले रात काट्न बाध्य छन् ।

 

अलपत्र परेका कामदारको भिसाको म्याद समेत सकिएकोले म्यानपावर कम्पनीलाई पटकपटक नेपाल फर्काउन आग्रह गर्दा समेत कुनै चासो नदेखाएको उनीहरुको गुनासो छ । यता म्यानपावरले भने आफूले अलपत्र कामदार फिर्ता ल्याउनका लागि पहल गरिरहेको जनाएको छ ।

अलपत्र पर्नेमा रुपन्देही लगायत अन्य जिल्लाका रहेका छन् । सम्बन्धित कम्पनीले आफ्नो क्याम्पबाट निकालेपछि अहिले नेपाली कामदार अर्को क्याम्पको बाहिर पट्टी बसिरहेका छन् । यस बिषयमा नेपाली दूतावासले समेत आफुहरुको गुनासो नसुनेको उनीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया