खेतीपाती र घर गृहस्थीमा मात्रै व्यस्त रहने सिन्धुपाल्चोकको हिमाली क्षेत्रका महिला आयआर्जनमा पनि जोडिन थालेका छन्। हिमाली क्षेत्र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका महिला आयआर्जनमार्फत आत्मनिर्भर बन्न थालेका हुन्।

राडीपाखी बुनेर आम्दानी हुन थालेपछि पाँचपोखरी थाङ्पाल– ७ की बुद्धिमाया गुरुङ खुसी छिन्। श्रीमान्को भरमा मात्र घर व्यवहार चलाउँदै आएकी उनी आफूले पनि केही गर्नुपर्छ भन्ने लागेर गलैंचा बुनाइसम्बन्धी काम सुरु गरेको बताउँछिन्। ‘अहिले श्रीमान्को एकल भर पर्नु परेको छैन, केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ’, उनले भनिन्।

बिहानदेखि बेलुकासम्म राडीपाखी बुन्ने काममा नै व्यस्त रहने उनी एउटै राडीपाखीबाट २० हजार रुपैयाँसम्म कमाउने गर्छिन्। आफ्नो सीपलाई प्रयोग गर्दै गाउँमै स्वरोजगार बनेकी उनी जीवनयापनमा सहज हुन थालेपछि झन् उत्साहित बनेकी छिन्। तर बजारको अलि समस्या भएको गुरुङको अनुभव छ। त्यसो त गाउँपालिकाले समस्या समाधान गर्नेमा पनि उनी विश्वस्त छिन्।

बुद्धिमायाको मात्रै नभई १३ वर्षदेखि गलैंचा बुनेर सोही ठाउँकी सानुमाया श्रेष्ठले परिवारको गर्जो टार्दै आएकी छिन्। सानो छँदा आमाहरूले बुनेको हेरेर नै गलैंचा बुन्न सिकेकी उनले परिवारसँग बसेर, घरपरिवारलाई समय दिएर पनि महिनामा १० हजार रुपैयाँ सजिलै कमाउने गरेकी छिन्। ‘आफ्नै सुरमा काम गर्न पाउँछु, यसलाई नै आफ्नो व्यवसायको रूपमा अँगालेको छु’, श्रेष्ठले भनिन्, ‘सानोतिनो खर्चका लागि ऋण काड्नु परेको छैन।’

उनीहरूजस्तै पाँचपोखरी थाङ्पाल–७ का २० घरपरिवारका महिला अचेल राडीपाखी, गलैंचा बुन्द व्यस्त हुने गरेका छन्। घरैमा बसेर, खाली समयमा गलैंचा, राडीपाखी बुनेर राम्रो आम्दानी हुने भएपछि यहाँका महिलाहरू अहिले राडीपाखी बुनाइप्रति आकर्षित भएका छन्। यहाँका अधिकांश महिलाले अरूले बुनेको हेरेर नै गलैंचा बुन्न सिकेका हुन्। यो सीपले आत्मनिर्भर हुन सकिन्छ भन्ने सोच उनीहरूमा छ।

उनीहरूको सीप र उत्पादनलाई बजारीकरण गर्न गाउँपालिका पनि जुटेको छ। ‘युवा, महिला, पिछडिएको वर्गलाई लक्षित गर्दै विभिन्न सीपमूलक तालिम प्रदान गर्दै हामीले आफ्नै ठाउँमा भएका सीपलाई प्रयोग गरी रोजगार सिर्जनाका प्रयासहरू गरेका छौं’, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टाँसी लामाले भने, ‘युवाहरूलाई उद्यमी, व्यवसाय बनाउन विभिन्न तालिम र अनुदान उपलब्ध गराउँदै आएका छौं।’ भौगोलिक रूपमा विविधता, विभिन्न जातजाति संस्कृति रहेको पाँचपोखरीमा परम्परागत सीपलाई प्राथमिकता दिई विभिन्न योजना ल्याएको अध्यक्ष लामाले जनाए। पिछडिएको क्षेत्र, समुदायका महिलालाई राडी बुन्ने, गलैंचा बुन्ने, डोका बुन्नेजस्ता सीपमूलक तालिम दिएको र महिलाहरूले निर्माण गरेको सामग्रीको बजारीकरणमा सहयोग गरिरहेको उनले बताए।

‘परम्परागत सीप र उत्पादनहरू लोप हुनबाट जोगाउन ती सीपलाई पुस्तान्तरण गर्न र बजार व्यवस्थापनमा ध्यान पु¥याउन आवश्यक हुन्छ’, गाउँपालिका लघु उद्यम् विकास शाखाका प्रमुख दीपेन्द्र पौड्याल भन्छन्, ‘सोही अनुरूप हामीले हिमाली भेगमा महिलालाई जीविकोपार्जनमा टेवा पु¥याउने र उत्पादित सामग्रीको बजारीकरणतर्फ ध्यान दिइरहेका छौं।’

उनले गाउँपालिकाको गरिबी निवारणका लागि उद्यम विकास शाखाअन्तर्गत पिछडिएको क्षेत्र, पिछडिएको वर्गको पहिचान गरी अभिमुखीकरण कार्यक्रम गरी विभिन्न सीपमूलक तालिमहरू दिइरहेको बताए। ‘उहाँहरूको माग र आवश्यकताको आधारमा विभिन्न चरणका स्वावलम्बन बन्ने खालका कार्यक्रम सञ्चालन गरिरहेका छौं’, पौड्यालले भने।

आव २०८०/०८१ मा संघीय ससर्त अनुदानमा १३ लाख र गाउँपालिकाबाट १९ लाख गरी जम्मा ३० लाख रुपैयाँ बजेट उद्यम बन्न प्रेरित हुने कार्यक्रमका लागि गाउँपालिकाले छुट्ट्याएको छ। सिंगो पालिकालाई समृद्ध बनाउनका लागि स्थानीय स्रोतसाधन, सीपको विकास र जनशक्तिको उचित व्यवस्थापन गर्नु एकदमै महत्त्व रहेको भन्दै पालिका उपाध्यक्ष सुनिता अधिकारी बताउँछिन्।

‘परम्परागत स्थानीय सीपहरू अझै पनि यहाँका महिलाले संरक्षण गरेको पाइन्छ’, उनले भनिन्, ‘सीप विकास र क्षमता अभिवृद्धि गरेरै उद्यमी बन्न प्रेरित गर्न सकिन्छ भन्ने यस ठाउँका महिलाहरूले पुष्टि गरेका छन्।’

तपाईको प्रतिक्रिया