हावाहुरीले केराको बोटमात्रै ढालेन, यही केरा बेचेर परिवार पाल्ने किसानका सपना पनि ढलेका छन्। जेठ १७ गतेदेखि तीन दिनसम्म आएको हावाहुरीले बिक्रीका लागि तयारी भएको केरा काट्न बारीमा पुग्दा पूर्वी चितवनका कृषक माधव घिमिरेको भक्कानो फुट्यो। अघिल्लो दिन बारीबाट फर्कंदा सकुशल रहेका केरा बिहान पुग्दा सबै बोट ढलेका थिए। फल लागेका केरासँगै अर्को वर्ष उत्पादन दिने साना बोट पनि नष्ट भएका छन्।

‘केरा काट्न भनेर घरबाट हिंडेको बारीमा केरा छैन। घरपरिवारले पैसा खोइ भन्छन्,’ उनले भने, ‘केरा त ढल्यो ढल्यो, हाम्रो परिवारको सपना पनि ढलेको छ।’

पूर्वी चितवनमा हावाहुरीले ९० प्रतिशत केरा नष्ट गरेको छ। फल लागेका केराको बोट बारीमा ढलेर सोत्तर छ। हावाहुरी आउनुअघि तयारी अवस्थाका केराले बजार पाएनन्। भारतबाट आयात केराका कारण नेपाली केरा बारीमै थियो। बजार जान नपाएका केरा बारीमै ढलेर नोक्सान भएपछि किसान मारमा परेका छन्। बेच्न तयार अवस्थाको केरा ढलेपछि खैरहनीको बडावाका किसान बुद्धिराज चौधरी निराश छन्। बारीको एक दुई बोटबाहेक सबै ढलेका छन्। उनको आशा बिमा हो। तर गत वर्षको भुक्तानी पनि नपाएको कारण ढुक्क हुन सकेका छैनन्। ‘बारीको एउटा पनि बाँकी नराखी हावाहुरीले बोट ढालेर सखाप बनाएको छ। जग्गा भाडा तिर्ने पैसा पनि भएन। ढलेका केरा पन्छाउन पनि खर्च लाग्छ। रुनमात्रै सकेका छैनौं’, बुद्धिराजले भने, ‘आस भनेको बिमा हो। तर पोहोरकै बिमाको पैसा पाएको छैन। यसपटक फेरि केरा सखाप भयो। सरकारले के गर्छ त्यही आशा हो।’ उनले ३५ बिघामा केराखेती गरेका छन्।

हावाहुरीले पूवी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका लगाइएका केरा ढालेको छ। हावाहुरीका कारण करिब १५ करोड रुपैयाँबराबरको केरामा क्षति पुगेको अनुमान छ। केरा ढलेपछि त्यसलाई सफा गर्न पनि खर्च लाग्छ। जग्गा भाडा तिर्नसमेत कठिनाइ भएको नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले बताए। ‘केरा त ढल्यो त्यसलाई पन्छाउन पनि खर्च लाग्छ,’ पन्तले भने, ‘बिमा गरेर समयमा पैसा नपाउँदा किसानको आत्मबल कमजोर भएको छ। समयमा भुक्तानी नआए अब आन्दोलनले मन्त्रालय घेर्न जाने हो।’

विमाको नियमावलीअनुसार दुई महिनाभित्र भुक्तानी पाउनुपर्ने व्यवस्था छ। तर किसानले १३ महिना बितिसक्दा पनि बिमाबाट क्षतिपूर्तिबापतको रकम पाएका छैनन्। चितवनमा ६० करोड रुपैयाँबराबरको बिमा भएको छ। यसमध्ये ५१ करोड रुपैयाँ शिखर इन्स्योरेन्समा बिमा भएको हो। गत वर्ष २ करोड ५० लाख रुपैयाँ क्षति भएको थियो।

किसानले बिमाबापतको पैसा पाएका छैनन्। गत वर्ष नै हावाहुरीले ढालेको केराको बिमाबापतको साढे २ करोड रुपैयाँ भुक्तानी पाएका छैनन्। बिमाको लागि केराको प्रतिबोटको लागत मूल्य २ सय ७५ रुपैयाँ कायम गरिएको छ। प्रिमियम रकममा ८० प्रतिशत सरकारले अनुदान दिन्छ। भुक्तानी नदिएको कारण किसानले बिमाको रकम पाएका छैनन्। यसवर्ष फेरि केरा ढलेपछि किसान चिन्तित भएका छन्। चितवनमा ३५ सय बिघामा केरा खेती गरिएको छ।

तपाईको प्रतिक्रिया