पछिल्ला समय आधुनिकीकरण बढ्दै जाँदा हुम्लामा आरन पेसा लोप हुँदै गएको छ। विगतमा हँसिया, आसी,कुटो कादोलो, बञ्चरो लगायतका कृषि औजार निर्माण गर्ने आरन पेसा पछिल्लो समय हराउँदै जान थालेको हो।

परम्परागत पेसा अँगाल्दै आएका सिमकोट गाउँपालिका–३ का पवसिहं सुनार आधुनिकीकरणसँग यो पेसा हराएकोमा चिन्ता व्यक्त गरे। अहिलेको परिवेशअनुरुप उपयुक्त आम्दानी नुहुँदा यो पेसा विस्तारै हराउँदै गएको सुनारले बताए। ‘आरनका लागि सल्लाको कोइला लिन धेरै टाढा जानुपर्छ सल्ला पाइँदैन आरनका लागि सामग्री पनि छैन। अहिले मन लागे बनाउँछु मन नलागे बनाउँदिन,’ उनले भने।

१० वर्षदेखि आरन पेसामा सक्रिय हुम्लाको चंखेली गाउँपालिका–२ का बिरबान कामी यो पेसाबाट पछिल्लो समयमा आम्दानी हुन छाडेपछि छोड्न बाध्य भएको बताए।

‘गाउँमा खेतीपाती गर्न छाडे।आरनमा आएर आँसी, कुटो, कोदालो बनाउन स्थानीयले छोडेपछि आफ्नो पेसा लोप हुँदै गयो,’ उनले भने। पहिले कोदालो, बञ्चरो, हँसिया बनाएपछि स्थानीयबासीहरुले अन्नपात दिने गरे पनि  पछिल्लो समय आम्दानी हुन छोडेको उनले बताए। दिनभर फलाम पिटेर विभिन्न सामाग्री निर्माण गरेअनुसार ज्याला नपाउँदा परिवार पाल्नै मुस्किल भएको अर्का स्थानीय असाढे कामीले बताए। गाउँबाट एक दिन टाढा चंखेली गाउँपालिका-५ को नेप्का गाउँ पुगेर फलाम पिटेर ज्याला गर्दै आएको १०  वर्ष भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया