नारायणी नदीमा आएको बाढीले गए राति नारायणगढ नगरवनको झोलुङ्गे पुल बगाएको छ । त्यसै गरी बाढी पस्ने खतरा भएका नदी किनारका बस्तीबाट १७१ जनालाई सुरक्षित स्थानमा सारेको चितवन जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शनिबार साँझसम्म बढ्दो क्रममा रहेर खतराको तहभन्दा पनि एक दशमलव ४६ मिटरमाथि पुगेको नारायणीको जल सतह अहिले भने घट्दै गएको छ ।

भरतपुर महानगरपालिका–३ नगरवनको नारायणीको भंगालोमा बनेको झन्डै सय मिटर लामो झोलुङ्गे पुल शनिबार राति साढे ११ बजेतिर ढलेको हो । घरहरू नै भत्के जसरी ठूलो आवाज सुनेर हेर्न आउँदा पुल ढलेको देखेको नगरवननजिक घर भएका रघु तिमिल्सिनाले बताए । बाढी बढ्न थालेसँगै भरतपुर– ३ नगरवनमा नै रहेको हाम्रो घर नामक संस्थामा रहेका १९ पुरूष, पाँच महिला र दुई जना महिला कामदार गरी २६ जनालाई नजिकै रहेको सुरक्षित घरमा सारिएको चितवन जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यसैगरी भरतपुर महानगरपालिका–१ ७ गोब्रेनीका १७ घरधुरीका ५४ जनालाई आफन्तका घरमा सारिएको छ । उक्त स्थानमा डुङ्गाबाट उद्धार कार्य भएको थियो । भरतपुर– ३ नगरवन क्षेत्रबाटै थप चार जनालाई पनि प्रशासनले आफन्तको घरमा सारेको छ । भरतपुर–१ देवघाट नारायणी नदी किनारमा रहेको कुटी र घरहरूबाट २८ जनालाई पनि सुरक्षित ठाउँमा सारिएको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

नारायणी नदीको नारायणगढनजिक बाढी मापन केन्द्ररमा शनिबार साँझ सवा सात बजेतिर जल सतह १० दशमलव ४६ मिटर पुगेको थियो । जल सतह ९ मिटरभन्दा माथि गए खतराको तह पार हुन्छ । आइतबार बिहान जल सतह घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार बिहान सवा सात बजे जल सतह ८ दशमलव ७ मिटर रहेको छ ।

तपाईको प्रतिक्रिया