उच्च रक्तचापबारे जान्नैपर्ने १० कुराहरु 
१.उच्च रक्तचाप संसार हुने मृत्युको पहिलो कारण हो। यसले हृदयघात तथा पक्षघात गराउँछ। त्यसकारण यो विकराल रोग हो।

२.उच्च रक्तचाप कतिलाई मान्ने भन्नेबारे जानकारी हुनु आवश्यक छ। यूरोपियन सोसाइटी अफ कार्डियोलोजीका अनुसार व्यक्तिको रक्तचाप १४० बाई ९० भएको अवस्थामा त्यसलाई उच्च रक्तचाप भएको मान्न सकिन्छ।
त्यस्तै अमेरिकन हार्ट एशोसियसनका अनुसार कुनै व्यक्तिमा माथिको रक्तचाप १३० भन्दा बढी तथा तलको रक्तचाप ८० भन्दा बढी भएको अवस्थालाई उच्च रक्तचाप मान्न सकिन्छ।

त्यसकारण विभिन्न स्थान तथा देशअनुसार उच्च रक्तचापलाई  परिभाषित गरिएको छ।
यद्यपि १३० बाई ९० भएको अवस्थालाई उच्च रक्तचाप भएको मान्न सकिने चिकित्सकहरु बताउँछन्। यस्तो अवस्थामा उच्च रक्तचापको औषधि सेवन गर्नका लागि सुरु गर्नुपर्ने हुन्छ।

३ .सिस्टोलिक र डायस्टोलिक ब्लड प्रेसरबारेको जानकारी सबैमा हुन जरुरी छ। दुवै प्रकारका रक्तचापले शरीरले हानी गराउन सक्छ।  विभिन्न अध्ययनहरुले तलको भन्दा माथिको रक्तचाप हृदयघातसँग बढी सम्बन्धित हुने गर्छ। त्यसकारण तलको भन्दा माथिको रक्तचापलाई नियन्त्रणमा राख्नु अत्यावश्यक हुन्छ।

४.धेरै मानिसहरुमा रक्तचापको समस्या उमेर ढल्कदैं जाँदा मात्रै देखा पर्छ भन्ने भ्रम रहेको पाइन्छ।
रक्तचापको समस्या २,३ वर्षको बच्चादेखी वयस्क तथा युवायुवती जोसुकैमा पनि देखा पर्छ। एक अध्ययन अनुसार ३५ देखी ४५ वर्ष उमेर समूहका ४ मध्ये १ जनामा ब्लड प्रेसरको समस्या देखा पर्छ।

त्यस्तै त्यही उमेर समूहका ५ मध्ये १ महिलामा रक्तचापको समस्या देखिन सक्छ। त्यसकारण ब्लड प्रेसरको समस्या युवा अवस्थामा नै पनि देखा पर्ने भएकोले सचेत हुन आवश्यक हुन्छ। युवा अवस्थामा हुने हृदयघात तथा पक्षघातको प्रमुख कारण नै अनियन्त्रित रक्तचाप नै हो।

५.ब्लड प्रेसरको समस्या लक्षणबिना पनि देखा पर्न सक्छ भन्ने जानकारी हामीमध्ये धेरैलाई छैन। सधैं जसो बिरामीको परीक्षणका क्रममा ब्लड प्रेसर बढ्दा समेत बिरामीलाई खासै लक्षण देखा नपरेको मैले पाएको छु। त्यसकारण लक्षणबिना पनि ब्लड प्रेसरको समस्या देखिन सक्छ भन्ने जानकारी हामीलाई हुनु आवश्यक छ। त्यसकारण नियमित रुपमा ब्लड प्रेसरको परीक्षण अत्यावश्यक छ।

२० वर्ष उमेर पुरा भइसकेका व्यक्तिले कम्तीमा पनि वर्षमा एक पटक ब्लड प्रेसरको परीक्षण गर्नु आवश्यक हुन्छ।
६.अमेरिका जस्तो विकसित मुलुकका मानिसहरुमा समेत आफूलाई ब्लड प्रेसरको समस्या भएको जानकारी हुँदैन। नेपाल जस्तो विकासोन्मुख मुलुकमा झनै यस समस्या विकराल रुपमा देखिएको छ। हाम्रो घरपरिवारका सदस्यमा समेत ब्लड प्रेसरको समस्या देखिदाँ समेत बिरामीहरु चुपचाप घरमा नै बसिरहेको पाइन्छ।

७.ब्लड प्रेसरको समस्या भएका अधिकांशमा मोटोपनाको समस्या समेत हुने गर्छ। अध्ययन अनुसार १ सय ब्लड प्रेसरका रोगीमध्ये ६० जनामा मोटोपना तथा ५० जनाको कोलेस्ट्रोरेल,२५ जनामा डायबिटिज तथा १५ जनामा किड्नीको समस्या हुने गरेको पाइएको छ।  त्यसकारण ब्लड प्रेसरको समस्या भएका हरेक व्यक्तिले मोटोपना, कोलेस्ट्रोरेल तथा किड्नीको अवस्थाबारे जानकारी राख्नु आवश्यक हुन्छ।

८.कतिपय ब्लड प्रेसरका बिरामीहरुमा सही रुपमा ब्लड प्रेसरको परीक्षण नहुँदा भ्रम फैलिएको पाइन्छ।
ब्लड प्रेसर परीक्षण गर्नु करिब आधा घन्टा अगाडि चुरोट, रक्सी तथा चियाको सेवन गर्नुहुँदैन। त्यस्तै परीक्षणका लागि अस्पताल पुगेको आधा घन्टासम्म आराम गर्नुपर्छ। ब्लड प्रेसर परीक्षणका लागि कुर्सीमा बसिरहँदा पछाडि भागलाई कुर्सीमा आड दिनुका साथै खुट्टालाई उपर खुट्टी लगाउनु हुँदैन। चिकित्सकहरुले समेत ब्लड प्रेसर परीक्षणका लागि सही कफ प्रयोग गर्नुपर्ने हुन्छ। त्यस्तै ब्लड प्रेसर परीक्षण गरिरहँदा चिकित्सक तथा बिरामी दुवै बोल्नु हुँदैन। त्यस्तै दुईपटक सम्म ब्लड प्रेसर नाप्नुपर्ने हुन्छ। यस्तो अवस्थामा मात्रै ब्लड प्रेसरको समस्या भए नभएको यकिन गर्न सकिन्छ।

९ . कतिपय मानिसहरुको स्थान अनुसार ब्लड प्रेसर थपघट हुने समस्या पाइएको छ। जस्तै अस्पतालमा ब्लड प्रेसर बढ्ने तथा घरमा सामान्य रहने। अस्पतालको तनावपूर्ण वातावरण तथा चिकित्सकहरुसँगको भेटघाटका कारण बढेको ब्लड प्रेसर घरको शान्त वातावरणले कम हुन सक्छ। यस्तो अवस्थालाई हवाईट कोर्ट हाइपरटेन्सन समेत भन्ने गरिन्छ।

त्यस्तै कतिपयमा घरमा ब्लड प्रेसर बढ्ने तथा अस्पताल आइपुथ्दा घट्ने समस्या समेत हुनसक्छ,जसलाई माक्र्स हाइपरटेन्सन भन्ने गरिन्छ। यस्ता बिरामीहरुको ब्लड प्रेसरबारे सही जानकारी पाउनका लागि होम ब्लड प्रेसर मनिटरिङ सिस्टम ल्याउन आवश्यक छ। त्यसकारण यस्ता समस्या हुनेहरुले घरमा नै ब्लड प्रेसर नाप्ने यन्त्र राख्नुपर्ने हुन्छ। हामीमध्ये धेरैलाई ब्लड प्रेसरका धेरै कारणहरु जस्तै वंशाणुत, चुरोट रक्सी तथा अल्छीपनाका कारण हुने गर्छ भन्ने जानकारी छ।
यद्यपि हामीमध्ये धेरैलाई युरिक एसिडका बिरामीहरुमा पनि ब्लड प्रेसरको समस्या हुने गर्छ भन्ने थाहा नहुन सक्छ।

१०. प्रतिशत भन्दा बढीमा वंशाणुगत कारणले नभई शरीरमा हुने अन्य समस्याका कारण ब्लड प्रेसर हुने गर्छ।
जस्तै थाइरोइड, किड्नी,राती घुर्ने जस्ता समस्या हुनेहरुमा ब्लड प्रेसरको समस्या हुने गर्छ। युवापुस्तामा नै ब्लड प्रेसर देखिने धेरै मानिसहरुमा यस प्रकारको समस्या समेत हुन सक्छ।  त्यस्तै ब्लड प्रेसरको समस्या आउन नदिनका लागि  नियमित परीक्षण गर्ने,स्वस्थकर खानेकुरा मात्रै खाने, नुनको सेवन कम गर्ने,सूर्तीजन्य पदार्थको सेवन नगर्ने तथा खुशी हुने प्रयास आवश्यक छ।

लेखक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्टरनल मेडिसिन विभाग सहायक प्राध्यापक हुन्।

तपाईको प्रतिक्रिया