सुनसरी । इटहरी २० तरहरामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुरको हतुवागढी गाउँपालिका वडा नं। ५ का ३१ वर्षीय विजय राई (मुकेश) रहेका छन् ।
उनी नेकपा एमाले भोजपुर हतुवागढी वडा नं। ५ का अध्यक्ष हुन् ।
मंगलबार बेलुका ७ः४० बजे इटहरी उपमहानगरपालिका वडा नं।२० हिमशिखर बोर्डिङ स्कुल नजिकै भित्री सडकखण्डमा तरहरा बजारतर्फ आउँदै गरेको को ३८ प २००९ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भएर सडकको दाँहिने तर्फको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
घटनामा राई गम्भीर घाइते भएका थिए । तरहरा प्रहरी चौकीबाट घटनास्थलमा खटिएर उपचारका लागि तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।तर, उपचारका लागि लगिएपनि चिकित्सकले मंगलबार राति ८ः१० बजे नै मृत घोषित गरेको डीएसपी भण्डारीले जानकारी दिए । शव बीपी प्रतिष्ठानको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।
इटहरी २० बस्ने १९ वर्षीय अनिष बस्नेत घाइते भएका छन् । बस्नेतले आफू मोटरसाइकलमा पछाडि सवार रहेको बताउँदै आएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ।
तत्काल मोटरसाइकल चालक को हो भन्ने पहिचान नभएकाले यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । मोटरसाइकल तरहरा प्रहरी चौकीको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।























