बेलबारी। मोरङका अलगअलग स्थानमा आइतबार बिहान २ जना पुरुष मृत फेला परेका छन् ।
केराबारी गाउँपालिका–९ स्थित धरधरे सामुदायिक वनको भिरमा १ जना वृद्ध पुरुषको शव फेला परेको छ । केराबारी–८ का ६७ वर्षीय पर्शुराम न्यौपानेको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार न्यौपाने गाई बाँध्ने घोचा काट्न भनेर शनिबार अपरान्ह ४ बजेतिर घरबाट निस्किएको खुलेको छ । घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए । खोजतलास गर्ने क्रममा भिरबाट करिब २० मिटर तल खसेको अवस्थामा आइतबार बिहान मृत फेला पारेर स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । गाईलाई घोचा काट्ने क्रममा भिरबाट लडेर न्यौपानको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
त्यस्तै, बेलबारी नगरपालिका–८ गिरीगाउँमा १ जना पुरुष सुतेकै ठाउँमा मृत फेला परेका छन् । भक्तबहादुर ओझाको घरमा काम गरेर बस्ने मोरङको मंगलबारे घर बताउने अन्दाजी ५६ वर्षीय डम्का राजवंशी आइतबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।
राजवंशी कटेरोमा सुतेका थिए । नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा देखेर प्रहरीलाई खबर गरिएको स्थानीय बताउँछन् । चिसोले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपि, घटनाको अनुसन्धान सुरु गरिएको र अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने प्रहरीले जनाएको छ ।























