सुनसरीको धरानमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा ड्युटीमा खटिएका दुई जना प्रहरी गम्भीर घाइते भएका छन् ।
कोशी लोकमार्गअन्तर्गत धरान उपमहानगरपालिका–८ भोटेपुलमा राति ११ः४५ बजेतिर को २० प ६५६२ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानबाट भोटेपुलतर्फ जाँदै गरेको मोटरसाइकल अचानक टायर पन्चर भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा झापाको प्रहरी चौकी महेशपुर दरबन्दी भइ इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी सहायक हवल्दार ताप्लेजुङको फुङलिङ नगरपालिका–२ का अन्दाजी ३४ वर्षीय आइतराज लिम्बू र पछाडि सवार इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी हवल्दार सप्तरी घर भएका अन्दाजी ३९ वर्षीय सुर्तीलाल चौधरी गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेका दुवै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
दुवै जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानबाट टायर पन्चर हुँदा मोटरसाइकल दुर्घटनामा परेको पत्ता लागेको छ ।

तपाईको प्रतिक्रिया